जातीय छुवाछूत ऐन जारी भएको १४ वर्षको अवधिमा विभेदकै कारण १७ जनाले ज्यान गुमाए

काठमाडौं : जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ जारी भएको आज १४ वर्ष पूरा भएको छ। तर ऐन लागू भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन।
समता फाउन्डेशनका अनुसार, ऐन कार्यान्वयनमा आएपछि पानी छोएको, चुल्हो छोएको वा अन्तर्जातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिले ज्यान गुमाएका छन्। यस अवधिमा कैयौं व्यक्ति सामाजिक बहिष्करणमा समेत परेका छन्।
फाउन्डेशनका अध्यक्ष डा. मदन परियारका अनुसार, जातीय विभेदकै कारण हत्या हुनेहरूमा राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट), मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ), अस्मिता सार्की (झापा), लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) रहेका छन्।
ऐनले कसुरदार ठहरिएमा पीडितलाई रु दुई लाखसम्म क्षतिपूर्ति तथा कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र रु ५० हजारदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ। तर, डा. परियारका अनुसार, छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले उजुरी लिन आनाकानी गर्ने र अदालतबाट समेत पीडककै पक्षमा फैसला हुने गरेका छन्। अन्तर्जातीय विवाह गर्ने थुप्रै जोडी र दलित परिवार यसकै कारण विस्थापित हुनुपरेको छ।
वि.सं. २०६८ जेठ १० गते व्यवस्थापिका-संसदबाट सर्वसम्मत पारित भएको यो ऐन लागू भएलगत्तै पनि विभेदका घटना रोकिएनन्। यसको उदाहरणका रूपमा दैलेखको तोली गाविसमा २०६८ भदौ १४ गते सन्तबहादुर दमाई र राजकुमारी शाहीबीचको प्रेमविवाहपछि सन्तबहादुरका बुबा सेते दमाईंको हत्या भएको थियो। यो ऐन लागू भएपछिको प्रारम्भिक र दर्दनाक घटना थियो।
यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पर्शुराम रम्तेलले ऐनको प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको र सामाजिक न्यायमा आधारित समाज निर्माणको कुरा गरिए पनि कूल जनसंख्याको १४ प्रतिशत दलित समुदाय अझै विभेदपूर्ण जीवन बाँचिरहेको भन्दै चिन्ता व्यक्त गरे।
जेठ १०, २०८२ शनिबार १२:०६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।