डा. कविन्द्रको उपचार अनुभव : २२ वर्षीया भारतीय महिला प्रहरीको टेढो आँखा सोझ्याएपछि...

वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डा. कविन्द्र बज्राचार्यले साना ठूला गरी करिब ३० हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेर उनीहरूको आँखाको ज्योति फर्काएका छन्। आँखाको ज्योति फर्काउने क्रममा उनले देखेका र भोगेका केही अविस्मरणीय अनुभवहरू उकेरासँग यसरी साटेका छन्:
मुटुको समस्या भएका ती ७० वर्षे बाजेको खुसी
गुल्मीको एउटा अस्पताल (आइकेयर सेन्टर) मा उपचार गरेका करिब ७० वर्षका एक बाजेको प्रसंग डा. बज्राचार्य कहिल्यै भुल्दैनन्। मोतिविन्दुका कारण एक आँखाले देख्न नसक्ने ती बाजेलाई मुटु र श्वासप्रश्वासको पनि समस्या थियो।
मोतिविन्दूको शल्यक्रिया गरेर आँखाको ज्योति फर्काउनुपर्ने थियो, तर मुटुको समस्याका कारण उनी धेरैबेर उत्तानो सुत्न सक्दैनथे, जुन शल्यक्रियाका लागि अनिवार्य थियो। यही कारणले अन्य अस्पतालमा उनको शल्यक्रिया हुन सकेको रहेनछ।
डा. बज्राचार्यले भने जोखिम मोलेरै भए पनि ती बाजेको शल्यक्रिया गरिदिने निर्णय गरे। सबै तयारीपछि बाजेलाई शल्यक्रिया टेबलमा उत्तानो पारेर सुताइयो। शल्यक्रिया सुरू भयो, तर केही चरणपछि नै उनलाई उठाइहाल्नुपर्थ्यो, अनि फेरि सुताउनुपर्थ्यो। यसरी पटक-पटक बिरामीलाई सुताउँदै र उठाउँदै डा. बज्राचार्यले केही बेरको प्रयासपछि सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरे।
शल्यक्रिया सफल भएपछि डा. बज्राचार्यले आँखामा पट्टी लगाइदिए र बाजेलाई नजिकैको अस्पतालमा पठाइदिए। भोलिपल्ट आफैँ गएर पट्टी खोलिदिएपछि त ती बाजेको खुसीको सीमा नै रहेन। आँखा खोलेर बाहिरी संसार देख्न पाएको त्यो क्षणमा बाजेको अनुहारमा देखिएको आनन्दित मुस्कान सम्झँदा डा. बज्राचार्यलाई अझै असीम सन्तुष्टि मिल्छ।
२२ वर्षे भारतीय प्रहरीको टेढो आँखा सिधा भएपछि...
केही वर्षअघिको अर्को एउटा प्रसंग पनि डा. बज्राचार्यको मानसपटलमा ताजै छ। करिब २२ वर्षकी एक भारतीय महिला प्रहरी आफ्नो टेढो आँखाको उपचारका लागि उनीकहाँ आइपुगेकी थिइन्। आँखाको बाङ्गोपनाले उनलाई असहज महसुस हुन्थ्यो।
डा. बज्राचार्यले ती प्रहरी युवतीको टेढो आँखाको शल्यक्रिया गरिदिए। शल्यक्रियापछि आँखामा पट्टी लगाइयो र भोलिपल्ट खोलियो। आँखाको ज्योति मात्रै होइन, आँखाको बाङ्गोपना पनि पूर्ण रूपमा ठीक भएको देखेपछि ती प्रहरी युवतीको खुसीको बयान गर्नै सकिँदैनथ्यो। आँखा सिधा भएको त्यो खुसीयालीमा घर फर्कने बेलामा उनले डा. बज्राचार्यसँग खुसीले फोटो खिचाइन्।
आँखा देख्ने भएपछि मिठाइको कोशेली बोकेर आएका बाजे
करिब ७० वर्षकै उमेरका एक भारतीय बिरामी बाजेको मोतिविन्दुको शल्यक्रियाको अनुभव पनि डा. बज्राचार्य सम्झन्छन्। उनले ती बाजेको एक आँखाको मोतिविन्दुको शल्यक्रिया गरिदिए र भोलिपल्ट पट्टी खोलिदिए।
केही दिनपछि ती बाजे पुनः लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर पुगे। डा. बज्राचार्य कहाँ हुनुहुन्छ भनी सोधखोज गर्दै उनको विभागमा पुगे। त्यो दिन उनी फलोअपका लागि वा आँखाको अन्य उपचारका लागि आएका थिएनन्, बरु आफ्नो आँखाको ज्योति फर्काइदिने चिकित्सकलाई धन्यवाद दिन र कृतज्ञता व्यक्त गर्न मिठाइको कोशेली लिएर आएका थिए।
ती बाजेले डा. बज्राचार्यलाई भेटेर पुनः संसार देख्न सक्ने बनाइदिएकोमा हृदयदेखि नै आभार व्यक्त गरे र आफूले ल्याएको मिठाइको कोशेली दिए। बिरामीको श्रद्धा र प्रेमले ल्याएको त्यो कोशेली डा. बज्राचार्यले सहर्ष स्वीकार गरे र आफ्नो विभागका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग बाँडेर खाए।
यसरी बिरामीको खुसी र कृतज्ञताले ल्याएको कोशेली खाँदा उनलाई आफ्नो पेशाप्रति अझै धेरै आत्मसन्तुष्टि मिल्यो। डा. बज्राचार्यका अनुसार, धेरै बिरामीहरूले आँखा देख्ने भएपछि खुसी हुँदै यसैगरी विभिन्न किसिमका कोशेली ल्याइदिने गर्छन्।
खुसी हुँदै आफ्नै खुट्टामा टेकेर फर्किएका तीन बिरामी
डा. बज्राचार्यले प्युठानको एउटा स्वास्थ्य शिविरमा उपचार गरेका तीन जना पाका उमेरका बिरामीको प्रसंग पनि कहिल्यै बिर्सँदैनन्। केही वर्षअघिको त्यो प्रसंगमा ६० वर्ष नाघेका तीन जना (दुई महिला र एक पुरुष) लाई आँखा नदेख्ने भएपछि बोकेर अस्पताल पुर्याइयो। मोतिविन्दुका कारण पूर्णरूपमा दृष्टि गुमाएका उनीहरूको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउनु थियो।
डा. बज्राचार्यले ती तीनै जनाको एकातर्फको आँखाको सफलतापूर्वक शल्यक्रिया गरिदिए। भोलिपल्ट पट्टी खोल्दा उनीहरूले पुनः बाहिरी संसार देख्न सके। त्यसपछि डा. बज्राचार्यले उनीहरूको अर्कोपट्टिको आँखाको पनि शल्यक्रिया गरिदिए।
दुवै आँखाको ज्योति फर्किएपछि उनीहरू तीनै जनाको खुसीको सीमा रहेन। अस्पताल आउँदा अरूको सहारामा आएका उनीहरू फर्कँदा आफैँ मुस्कुराएर गफिँदै घर गए। त्यो क्षण सम्झँदा डा. बज्राचार्यलाई अझै पनि गौरव र आनन्दको महसुस हुन्छ।
जन्म काठमाडौं, सपना डाक्टर बन्ने
काठमाडौंको कीर्तिपुरमा २०३६ सालमा जन्मिएका कविन्द्र बज्राचार्यले बाघ भैरव बोर्डिङ स्कुलबाट एसएलसी र काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट आइएस्सी उत्तीर्ण गरे। अध्ययनमा सधैँ अब्बल उनलाई डाक्टर बन्ने गहिरो रहर थियो।
उनले काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल मेडिकल कलेज (जोरपाटी) मा सन् १९९९ मा एमबीबीएस अध्ययन सुरू गरे र सन् २००४ मा पूरा गरे। एमबीबीएसपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। त्यसपछि कीर्तिपुर अस्पतालमा करिब डेढ वर्ष सेवा गरे।
नेत्ररोगमै विशेष रुचि
एमबीबीएसपछि डा. बज्राचार्यको थप अध्ययनका लागि रुचिको विषय बन्यो- नेत्ररोग। त्यसैले उनले चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा नेत्ररोग विषय नै अध्ययन गर्ने निर्णय लिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सन् २००८ मा एमडी अध्ययन सुरु गरेर उनले २०११ मा तीन वर्षे अध्ययन पूरा गरे।
नेत्ररोगमा एमडी गरेपछि डा. बज्राचार्य २०११ मै रुपन्देहीको भैरहवास्थित नेपाल नेत्रज्योति संघ अन्तर्गतको ‘लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर’ मा नेत्ररोग विशेषज्ञका रूपमा कार्यरत छन्। सोही अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत नेत्ररोग विषयको एमडी अध्ययनको प्राक्टिकल तालिम समेत हुने भएकाले डा. बज्राचार्य प्रतिष्ठानको प्राध्यापकका रूपमा समेत कार्यरत छन्।
बाल नेत्ररोगमा विशेष दक्खल राख्ने डा. बज्राचार्यले लुम्बिनीबाटै एक वर्षे फेलोसिप गरे। अमेरिकामा पनि गएर उनले बाल नेत्ररोगसम्बन्धी थप ज्ञान तथा सीप हासिल गरेका छन्। हाल उनी ‘लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर’ को बाल नेत्र विभागको प्रमुखको जिम्मेवारीमा छन् र आधा दर्जनभन्दा बढी चिकित्सकलाई बाल नेत्र रोगसम्बन्धी फेलोसिप तालिम समेत दिइसकेका छन्। उनी अस्पताल अन्तर्गत रहेका अन्य अस्पतालहरूको समन्वयकारी ‘बाह्य कार्यक्रम निर्देशक’ का रूपमा पनि सक्रिय छन्।
उनका आफ्नै र सहलेखनसहितका करिब दुई दर्जन वैज्ञानिक आलेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनी ‘लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर’ को ‘इन्टिच्युसनल रिसर्च कमिटी’ का अध्यक्ष र ‘मेडिकल बोर्ड’ का सदस्य सचिवका रूपमा पनि कार्यरत छन्।
साथै, नेपाल अप्थाल्मोलोजी सोसाइटीको सहकोषाध्यक्ष र नेपाल पेडियाट्रिक अप्थाल्मोलोजी एन्ड स्ट्राबिस्मस सोसाइटीको महासचिवको भूमिका पनि निर्वाह गरिसकेका छन्। नेपाल नेत्रज्योति संघमा पनि उनी क्वालिटी विभागको संयोजक पनि हुन्।
बौद्ध धर्म र ध्यानमा रुचि
अध्ययनमा अब्बल डा. बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट बौद्ध धर्मसम्बन्धी एक वर्षे डिप्लोमा र त्यसपछि उत्कृष्ट अंकसहित स्नातकोत्तर पनि गरेका छन्। हाल उनी लुम्बिनी विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गरिरहेका छन्। त्रिविबाट गोल्ड मेडल प्राप्त गरेका उनी राष्ट्रपतिबाट नेपाल विद्याभूषण ‘ख’ बाट समेत सम्मानित भइसकेका छन्।
उनी प्रवचन दिने र ध्यान गराउने कार्यमा समेत रमाउँछन्। अस्पतालमा प्रत्येक महिनाको एक दिन सामूहिक ध्यान गर्ने गरेको पनि उनले सुनाए।
हजारौंको जीवनमा उज्यालो
डा. बज्राचार्यले हालसम्म साना ठूला गरी ३० हजारभन्दा बढी व्यक्तिको शल्यक्रिया गरेर उनीहरूको आँखाको ज्योति फर्काएका छन्। ‘लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर’ मा नेपालका मात्रै नभई भारतको उत्तरी क्षेत्रबाट पनि धेरै बिरामी उपचारका लागि आउने गरेको उनी बताउँछन्।
बालबालिकाको आँखा बाङ्गो हुने, दुर्घटनामा परी चोटपटक लाग्ने वा फुट्ने जस्ता समस्याको औषधि उपचार तथा शल्यक्रिया गरी आँखाको ज्योतिलाई सही दिशामा ल्याउने प्रयासमा उनी निरन्तर लागिरहेका छन्।
बेला-बेलामा उनी विभिन्न आँखा अस्पताल र स्वास्थ्य शिविरहरूमा पुगेर बिरामीको आँखाको उपचार तथा शल्यक्रिया गरी ज्योति फर्काउने काममा सक्रिय हुन्छन्। नेपालमा मात्रै नभई विभिन्न मुलुकमा समेत पुगेर उनले हजारौं व्यक्तिको आँखाको शल्यक्रिया गरी उनीहरूको जीवनमा उज्यालो थपिदिएका छन्।
जेठ १०, २०८२ शनिबार १३:१८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।