फिल्म उद्योगलाई फेरि नधमिल्याऊँ

नेपाल र भारतको फिल्म निर्माणको इतिहास हेर्ने हो भने त्यति ठूलो अन्तर देखिँदैन। भारतमा सन् १९१३ मा पहिलो फिल्म बनेको थियो- ‘राजा हरिश्चन्द्र’। त्यसको ३६ वर्षपछि सन् १९४९ मा नेपाली भाषामा पहिलो फिल्म बन्यो- ‘सत्य हरिश्चन्द्र।’ यद्यपि ‘सत्य हरिश्चन्द्र’ लाई पहिलो नेपाली फिल्म मान्ने कि ‘आमा’लाई, यो बहसकै विषय छ।
‘आमा’लाई पहिलो नेपाली फिल्म मान्ने हो भने पनि नेपाल भारतभन्दा फिल्म निर्माणमा जम्मा ५२ वर्ष कान्छो देखिन्छ। अर्थात् वर्ष गणनामा हामी त्यति पछाडि त हैनौं। तर फिल्म बजार विस्तार र प्रभाव हेर्ने हो भने तुलना नै गर्न गर्न नमिल्ने चरणमा छौं हामी।
भारतीय फिल्मको मूलधार मानिने बलिउड मात्र होइन, दक्षिण भारतीय तेलुगु (टलिउड), तमिल (कोलिउड), मलयालम (मोलिउड) लगायतका क्षेत्रीय भाषामा बनेका फिल्मको उपस्थिति अहिले विश्व बजारमा उल्लेखनीय छ। यता, हाम्रोमा क्षेत्रीय फिल्महरू वर्षमा एकाध बन्छन्। उद्योगको रूपमा स्थापित हुने विषय त अहिलेकै अवस्थामा स्वैरकल्पना ठहरिन्छ।
बरु, बल्ल नेपाली फिल्ममा खस आर्य बाहेकका संस्कृति र परम्परा देखिन थालेका छन्। त्यस्ता फिल्मलाई दर्शकको पनि अनुमोदन भएकै पाइन्छ। यद्यपि फरक-फरक संस्कृतिमा आधारित फिल्म बनिरहे पनि फरक-फरक भाषामा भने फिल्म बन्न सकिरहेका छैनन्। जति बनेका छन् तिनीहरूको उपस्थिति नगण्य छ।
गएको वर्ष २०८१ सालमा नेपालमा फिल्मको आर्थिक आकार तीन अर्ब हाराहारीको देखियो। यो आकडा नेपालमा प्रदर्शन भएका विदेशी फिल्म समेतको व्यापार जोड्दा हो। ०८१ सालमा नेपाली फिल्म मात्रले गरेको व्यापार भने करिब एक अर्ब ८० करोडको हो। भारतीय फिल्म उद्योगको अगाडि यो आँकडा केही पनि होइन। यद्यपि ०८१ सालमा नेपाली फिल्मको व्यापार भने अद्वितीय नै थियो।
वर्षभरि प्रदर्शनमा आएका ६२ फिल्महरूमध्ये ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ले मात्र लगभग ५० प्रतिशत व्यापार गरेका थिए। त्यसमाथि पूर्णबहादुरको सारङ्गीको आशातीत व्यापारले त फिल्म उद्योगकै मनोबल बढाएको छ। यद्यपि, ०८१ को ठूलो आँकडा केही फिल्ममा मात्र निर्भर हुनुले चाहिँ व्यापारको निरन्तरतामा प्रश्न उठाएकै छ।
२०८१ सालमा आशाको किरण छर्ने काम ‘१२ गाउँ’ले पनि गर्यो। फिल्मको गुणस्तरमा प्रश्नै-प्रश्न भए पनि लगभग हराइसकेको एक्सन विधाको पुनः जन्म गराउन यसको योगदान रह्यो नै। वर्षको अन्तिम फिल्म ‘पिताम्बर’सम्म आइपुग्दा नेपालमा एक्सन विधाको पुनः प्रकटीकरण भएको छ।
फिल्म निर्देशनमा पुरुषहरूको एकाधिकार जस्तै भइरहेका बेला ‘पिताम्बर’मार्फत कृषा चौलागाईंको आगमन भयो। केकी अधिकारी ‘बोक्सीको घर’ बाट फिल्म निर्माणमा प्रवेश गरिन्। यसलाई सकारात्मक संकेतको रूपमा लिन सकिन्छ।
कुनै समय भारतीय फिल्मकै व्याकरण र कथावस्तु हूबहू देखिने गरेकामा ०८१ मा केही फिल्मले त्यो मान्यतालाई राम्रैसँग चिरे। सामाजिक विषयमा आधारित फिल्मको संख्यात्मक उपस्थिति बलियो रह्यो। ‘उनको स्विटर’ र ‘जार’ मार्फत २०८२ को प्रारम्भले अर्ग्यानिक फिल्मको यात्रामा सुखद सुरुवात गरेको छ।
तर, नेपाली फिल्मबाट भारतीय फिल्मको छायाँ क्रमशः हट्दै गएका बेला दक्षिण भारतीय फिल्मको विस्तार यसरी भयो कि केही नेपाली फिल्मले त्यही व्याकरण पछ्याउन थालिसकेका छन्। केही शैली मात्रै होइन, पूरै ढाँचा नै उताको ल्याएर पात्रहरू मात्र यताको राख्ने खराब अभ्यास सुरु भइसकेको छ।
यो गलत अभ्यास किन पनि हो भने, विषयवस्तुसँगै फिल्म निर्माण ढाँचा नै सर्लक्कै सार्दा एक समय नेपाली फिल्मले बजार र दर्शक दुवै गुमाएकै हो। भारतीय फिल्मसँग आफ्नै देशको हलमा प्रतिस्पर्धा गर्न नसकेकै हो।
बल्ल मौलिक कथा र कथावाचन शैली भित्रिरहेको, नयाँ पुस्ताका निर्देशक, कलाकार तथा प्राविधिकले रैथाने स्वादको फिल्म बनाइरहेका बेला पुनः दक्षिण भारतीय फिल्मको फ्रेम जस्ताको त्यस्तै उतार्ने प्रवृत्तिले सङ्लिँदै गएको नेपाली फिल्मको बहाव पुनः धमिलो हुने जोखिम बढिरहेको छ। यसबाट जोगिन सके मात्रै नेपाली फिल्म क्षेत्रले २०८१ मा पाएको सफलताको पुनरावृत्ति हुन्छ। नत्र हाम्रा हलहरू पुनः विदेशी फिल्मकै कब्जामा हुने पक्का छ।
जेठ १०, २०८२ शनिबार १०:५५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।