चामलको मूल्यबारे मजाक गर्दा गयो जापानका कृषिमन्त्रीको पद, के भनेका थिए?

चामलको मूल्यबारे मजाक गर्दा गयो जापानका कृषिमन्त्रीको पद, के भनेका थिए?

एजेन्सी : जापानका कृषिमन्त्री ताकु इटोलाई चामलको बढ्दो मूल्यबारे गरेको एक टिप्पणी महंगो साबित भएको छ। जनता आक्रोशित भएपछि उनले पदबाट राजीनामा दिनुपरेको हो।

इटोले हालै एउटा कार्यक्रममा आफूले कहिल्यै चामल नकिन्ने तर समर्थकहरूबाट उपहारस्वरूप निःशुल्क पाउने गरेको बताएका थिए। मुद्रास्फीतिसँग जुधिरहेका जापानी जनताले चामलको मूल्य आकासिएको बेला मन्त्रीको यस्तो संवेदनशीलताविहीन टिप्पणी सुनेपछि चर्को विरोध गरेका थिए।

इटोले बुधबार प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री शिगेरु इशिबालाई आफ्नो राजीनामा बुझाएका छन्। यो राजीनामाले प्रधानमन्त्री इशिबामाथि मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने दबाबलाई झनै बढाएको छ।

ताकु इतोको राजीनामापछि बुधबार नै पूर्व वातावरणमन्त्री शिन्जिरो कोइजुमीलाई नयाँ कृषिमन्त्री नियुक्त गरिएको छ। कोइजुमीले यसअघि लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वका लागि प्रधानमन्त्री इशिबाविरुद्ध प्रतिस्पर्धा गरे पनि सफल हुन सकेनन्।

सरकारले चामलको निरन्तर बढ्दो मूल्य नियन्त्रण गर्न नसकेका कारण जनताको आक्रोशको सामना गरिरहेको छ। जापानमा आगामी जुलाईमा संसदको माथिल्लो सदनको निर्वाचन हुँदैछ, जसका कारण चामलको मूल्यवृद्धिको मुद्दाले राजनीतिक महत्त्व थप बढाएको छ।

दुई वर्षमै चामलको मूल्य दोब्बर
जापानको सबैभन्दा लोकप्रिय ‘कोशीहिकारी’ ब्रान्डको चामल अहिले प्रति ५ किलो लगभग पाँच हजार येनमा बिक्री भइरहेको छ। जबकि सन् २०२३ मा ५ किलो चामलको औसत मूल्य लगभग दुई हजार येन थियो। यसरी दुई वर्षको अवधिमा चामलको मूल्य दोब्बरभन्दा बढी भएको छ।

प्रधानमन्त्री इशिबाले चामलको ५ किलोको औसत मूल्य घटाएर लगभग तीन हजार येनमा झार्ने बाचा गरेका छन्।

मन्त्री र प्रधानमन्त्रीले माफी मागे
जापानको क्योडो समाचार एजेन्सीका अनुसार, राजीनामा दिएपछि ताकु इटोले भने, ‘मैले आफैँलाई सोधें कि चामलको निरन्तर बढ्दो मूल्यका बाबजुद पनि मलाई कृषिमन्त्रीको पदमा रहिरहनु उपयुक्त हुन्छ कि हुँदैन। त्यसपछि मैले राजीनामा दिने निर्णय गरेँ।’

उनले थपे, ‘म फेरि एकपटक जनतासँग माफी चाहन्छु। जनता चामलको बढ्दो मूल्यसँग संघर्ष गरिरहेका बेला मन्त्रीको रूपमा मैले एकदमै गलत बयान दिएँ।’

प्रधानमन्त्री शिगेरु इशिबाले पनि आफ्ना मन्त्रीको टिप्पणीका लागि जनतासँग माफी मागेका छन्।

२५ वर्षपछि चामल आयात
जापानमा चामलको मूल्य सधैं एक संवेदनशील र प्रमुख राजनीतिक मुद्दा रहँदै आएको छ। सन् १९१८ मा चामलको मूल्यलाई लिएर भएको व्यापक विद्रोहका कारण तत्कालीन सरकार पतन भएको थियो।

वर्तमान सरकारले चामलको मूल्य नियन्त्रण गर्न विभिन्न प्रयास गरे पनि ती प्रभावकारी हुन सकेका छैनन्। बढ्दो मूल्य र मुद्रास्फीतिको बोझ कम गर्नका लागि विपक्षी दल र आम जनताले उपभोग कर घटाउन माग गरिरहेका छन्।

चामलको बढ्दो मूल्यले गर्दा धेरै जापानी रेस्टुरेन्ट र सर्वसाधारणले अब अन्य देशबाट सस्तो चामल आयात गर्न जोड दिन थालेका छन्। यसै सन्दर्भमा, गत अप्रिलमा जापानले २५ वर्षमा पहिलो पटक दक्षिण कोरियाबाट चामल आयात गरेको थियो।

जेठ १०, २०८२ शनिबार १०:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।