राउटे समुदायमा गहिरिँदो खाद्य संकट : मुखियाको किरियाले चामल सकियो, चार महिनादेखि भत्ता पनि रोकियो

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय अहिले खाद्य संकटको सामना गरिरहेका छन्। चार महिनादेखि राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता नपाउँदा अनि मुखियाको निधनपछि बस्तीमा भएको खाद्यान्न किरियामा सकिँदा उनीहरूको जीवन थप कष्टकर बनेको छ।
हाल राउटे समुदाय सुर्खेतको बराहताल गाउँपालिका-९ को सोतखोला किनार र वीरेन्द्रनगर-१३ को करेखोलामा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। खाद्य संकटले दुवै बस्ती प्रभावित भए पनि सोतखोलाको अवस्था विशेषगरी चिन्ताजनक देखिएको छ।
बराहताल-९, सोतखोला बस्तीका मुखिया सूर्यनारायण शाहीको वैशाख १५ गते निधन भएपछि अवस्था जटिल बनेको हो। राउटे परम्पराअनुसार मुखियाको किरिया गर्दा समुदायका सबै घरपरिवारलाई लगातार १३ दिनसम्म खाना खुवाउनुपर्छ, जसका लागि ठूलो मात्रामा चामल र अन्य खाद्यान्न आवश्यक पर्छ। बस्तीमा भएको चामल मुखियाको किरिया खर्चमा सकिएपछि अहिले उनीहरूलाई साँझ-बिहानको छाक टार्नै धौधौ परेको छ।
सोतखोला बस्तीमा बस्दै आएका १९ घरधुरीमा मुखिया सूर्यनारायणको मृत्युपछि नयाँ मुखिया छनोटको प्रक्रिया पनि टुंगो लागेको छैन, जसले गर्दा समुदायमा अन्योल बढेको छ।
प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको भए पनि सोतखोलाको यो बस्तीमा पछिल्लो करिब एक महिनायता कुनै पनि व्यक्ति वा संस्थाबाट सहयोग प्राप्त हुन सकेको छैन। यसले गर्दा खाद्य संकट झनै चुलिएको राउटे अगुवा तथा मृतक मुखियाका भाइ शेरबहादुर शाहीले बताउँछन्।
‘घरमा भएको चामल मुखियाको काजकिरियामा सकियो। सरकारले दिने भत्ता पनि चार महिनादेखि आएको छैन। हामीले बनाएका काठका सामानहरू पनि बिक्री हुँदैनन्। न त कोही दान गर्ने मान्छे नै आउँछन्। अहिले त हामी रानो विनाका मौरीजस्तै भएका छौँ, कसरी बाँच्ने हो, केही थाहा छैन’, उनले पीडा सुनाए।
राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता राउटे समुदायका लागि जीवनरेखा भएको बताउँदै शेरबहादुर सरकारले जतिसक्दो चाँडो भत्ता उपलब्ध गराएर जीवन बचाइदिन अनुरोध गर्छन्।
राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले प्रदान गर्दै आएको छ। हरेक तीन-तीन महिनामा नियमित रूपमा दिइने यो भत्ता चार महिना बितिसक्दा पनि उपलब्ध नभएपछि समुदाय राज्यप्रति समेत रुष्ट बनेको छ।
यसैगरी, वीरेन्द्रनगरको करेखोलामा बस्दै आएको राउटे समुदायमा पनि अवस्था सहज छैन, यद्यपि सोतखोलाको तुलनामा त्यहाँ सानोतिनो सहयोग जुटिरहेको मुखिया वीरबहादुर शाही बताउँछन्।
‘अहिले त कसैको मृत्यु हुँदा समेत किरिया गर्ने खाना छैन,’ उनी भन्छन्, ‘एक दुई बोरा चामल सहयोग आएको छ, त्यसैले जेनतेन गुजारा गरिरहेका छौँ। हाम्रो त किरिया गर्दा १३ दिनसम्म सबै घरलाई खाना खुवाउनुपर्छ, चामलबाट रक्सी पनि बनाउनुपर्छ।’
वीरबहादुरले सोतखोला बस्तीमा देखिएको गम्भीर खाद्य संकटप्रति चिन्ता व्यक्त गर्दै खाद्यान्न सहयोगका लागि सम्बन्धित निकाय र दाताहरूलाई अपिल गरेका छन्।
यस सम्बन्धमा गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वली यसपटक विवरण पठाउनमा ढिलाइ भएका कारण समयमा भत्ता वितरण गर्न नसकिएको स्वीकार गर्छन्।
उनी भन्छन्, ‘पालिकाबाट संघ सरकारमा विवरण पठाउन ढिलाइ भएका कारण सामाजिक सुरक्षा भत्ता आउन ढिलो भएको हो। हामीलाई यस विषयमा जानकारी छ र यही हप्ताभित्रै हामी दुवै बस्तीमा गएर राउटे समुदायलाई विगत तीन महिनाको भत्ता एकमुष्ट वितरण गर्ने तयारी गरिरहेका छौँ।’
सन् २०१६ मा १४९ रहेको राउटेको जनसंख्या पछिल्ला वर्षहरूमा तीव्र गतिमा घटिरहेको छ। हाल यो समुदायको जनसंख्या १३५ मात्र रहेको छ, जसमा ७५ महिला र ६० पुरुष रहेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘घुमन्ते-फिरन्ते राउटेको मानवअधिकार अवस्था’ विषयक अध्ययन प्रतिवेदन २०८१ ले पनि राउटेको जनसंख्या प्रत्येक वर्ष घट्दै गएको तथ्य प्रस्तुत गरेको छ। आयोगको पछिल्लो ६ वर्षको तुलनात्मक अध्ययनले जन्मदरभन्दा मृत्युदर बढी रहेको औँल्याएको थियो।
राज्यको यथोचित ध्यान नपुग्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु, प्रजनन स्वास्थ्य सेवाको अभाव, गुणस्तरहीन परम्परागत आवास, मौसमअनुसारको लत्ताकपडाको अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको कमीजस्ता बहुआयामिक कारणले राउटेको जनसंख्या घट्दै गएको प्रतिवेदनमा उल्लेख छ।
राउटे समुदाय परम्परागत रूपमा कर्णाली प्रदेशका जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशको दाङसम्म फिरन्ते जीवन बिताउने गर्छन्।
जेठ १०, २०८२ शनिबार ०९:३४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।