कोर्स रेकर्डसहित शुक्रलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

कोर्स रेकर्डसहित शुक्रलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं : पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज उपाधि कोर्स रेकर्डसहित जितेका छन्।

शुक्रले १७-अन्डर २५५ को स्कोरसहित निरज तामाङलाई ४ स्ट्रोकले पछि पार्दै उपाधि जिते। उनले एमेच्योर सद्भाव आचार्यको १५-अन्डरको कोर्स रेकर्ड पनि तोडे।

अन्तिम दिन ६-अन्डर ६२ स्कोर गरेका शुक्रले १ लाख १० हजार रुपैयाँ पुरस्कार जिते। यो उनको ११औं उपाधि हो।

निरज तामाङले पनि ६-अन्डर ६२ स्कोर गरे तर समग्रमा १३-अन्डर २५९ स्कोरसहित दोस्रो भए। उनले ७० हजार प्राप्त गरे।

दिनेश प्रजापति ८-अन्डर २६४ स्कोरसहित तेस्रो भए र ५० हजार पुरस्कार पाए।

भुवन रोक्का (७-अन्डर २६५) चौथो, सञ्जय लामा (५-अन्डर २६७) पाँचौँ भए। उनीहरूले क्रमशः ४२ हजार र ३७ हजार पुरस्कार प्राप्त गरे।

तोरण विक्रम शाही, रवि खड्का र वसन्त गुरुङले ४-अन्डर २६८ को स्कोरसहित संयुक्त छैठौँ स्थान बाँडे। सबैले जनही ३० हजार पाए।

नेपालका नम्बर एक भुवन नगरकोटी १-अन्डर २७१ स्कोरसहित नवौँ, रमेश अधिकारी २-ओभर २७४ स्कोरसहित दशौँ भए। उनीहरूले क्रमशः २४ हजार र २१ हजार हात पारे।

एमेच्योरतर्फ राहुल विश्वकर्मा ३-ओभर २७५ स्कोरसहित निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पार्दै विजेता बने।

चार दिने ७२ होलको प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरसहित ४७ खेलाडी सहभागी थिए। कुल ६ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष २१ भित्रका प्रोफेसनलले नगद जिते।

विजेतालाई सूर्य नेपालका डिपुटी जीएम केशव प्रधान, एनपिजिका अध्यक्ष रविन्द्रमन श्रेष्ठ, गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कार वितरण गरे।

शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ, जहाँ एमेच्योर खेलाडीले प्रोफेसनलसँग सहकार्यमा खेल्नेछन्।

जेठ १०, २०८२ शनिबार ०९:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।