हैदराबादसँग ४२ रनले हार्‍यो बैंग्लोर

हैदराबादसँग ४२ रनले हार्‍यो बैंग्लोर

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लोर सनराइजर्स हैदराबादसँग ४२ रनले पराजित भएको छ।

पहिले नै प्ले अफबाट बाहिरिएको हैदराबादले २ सय ३२ रनको विशाल लक्ष्य दिएकोमा बैंग्लोरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन मात्र बनाउन सक्यो।

बैंग्लोरका लागि ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए।

साल्टले ३२ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए भने कोहलीले २५ बलमा ७ चौका र १ छक्का सहित ४३ रन जोडे।

तर, मध्यक्रम धराशायी बनेपछि बैंग्लोर लक्ष्यको नजिक जान सकेन। जितेश शर्माले २४, रजत पाटिदारले १८ र मयंक अग्रवालले ११ रन जोडे भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हैदराबादका कप्तान प्याट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो।

तेस्रो नम्बरमा आएका इशान किशनले सानदार प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ५ छक्का सहित अविजित ९४ रन बनाए। अभिषेक शर्माले ३४, अनिकेत बर्माले ३५ र हेनरिक क्लासेनले २४ रनको योगदान दिए।

बलिङतर्फ आरसिबीका रोमारियो सेपर्डले २ विकेट लिए भने भुवनेश्वर कुमार, लुङ्गी एनगिडी र सुयश शर्माले समान १–१ विकेट झारे।

हारपछि बैंग्लोरको पहिलो क्वालिफायरमा पुग्ने योजना प्रभावित भएको छ। १७ अंक सहित आरसिबी तेस्रो स्थानमा छ। समान अंक भएको पन्जाब किङ्स दोस्रो स्थानमा रहँदा १८ अंकसहित गुजरात टाइटन्स शीर्ष स्थानमा छ।

जेठ १०, २०८२ शनिबार ०८:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।