शल्यक्रिया सेवामा देखिएको समस्या अन्त्य गर्न लुम्बिनीमा विशेष सर्जरी कार्यक्रम

शल्यक्रिया सेवामा देखिएको समस्या अन्त्य गर्न लुम्बिनीमा विशेष सर्जरी कार्यक्रम

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले शल्यक्रिया सेवामा देखिएको समस्यालाई अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विशेषगरी पित्तथैलीको शल्यक्रियाका लागि महिनौसम्म पालो कुरिरहेका सेवाग्राहीलाई लक्षित गर्दै आगामी असार १ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।

यो अभियान अन्तर्गत असार १ गतेदेखि सुरु भई एक महिनासम्म पित्तथैलीको शल्यक्रिया गरिने छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै असार १ गतेपछि पालो परेकाहरूका लागि नाम दर्ता खुला गरेको छ। जेष्ठ २२ गतेसम्म पालोमा रहेका बिरामीले आफ्नो नाम दर्ता गराई कार्यक्रममा सहभागी हुन सक्नेछन्। डा. ढकालका अनुसार यस विशेष कार्यक्रमबाट झण्डै ३ सय जनाले सेवा लिने अपेक्षा गरिएको छ।

पछिल्लो समय अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर स्थापना भएपछि अन्य शल्यक्रिया थप सहज रुपमा भइरहेका छन्। प्रशासकीय प्रमुख राजन केसीका अनुसार विगत तीन वर्षको तथ्याङ्क हेर्दा वार्षिक औसतमा १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ। पछिल्लो आर्थिक वर्षमा अस्पतालमार्फत ३ लाख ४८ हजार ९७१ जनाले सेवा लिएका थिए।

रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र प्युठानबाट समेत सेवाग्राही आउने भएकाले चाप घटाउन र जनगुनासो कम गर्न विशेष सर्जरी कार्यक्रम ल्याइएको अस्पताल प्रशासनले जनाएको छ। 

जेठ ९, २०८२ शुक्रबार १९:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।