लागूऔषधको दलदलमा युवापुस्ता, १० महिनामा ६ हजार बढी पक्राउ

लागूऔषधको दलदलमा युवापुस्ता, १० महिनामा ६ हजार बढी पक्राउ

काठमाडौं :  चालु आर्थिक वर्षको १० महिनामा लागूऔषधसँग सम्बन्धित ४ हजार ४१ मुद्दा दर्ता भए। तीमध्ये सबैभन्दा धेरै मुद्दा कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो।

कोशी प्रदेशमा १ हजार १ सय ५० वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा ५ सय ८१, काठमाडौं उपत्यकामा ५ सय ८०, लुम्बिनीमा ५ सय ५९, मधेशमा ४ सय ७५, बागमतीमा ३ सय ६५, गण्डकीमा १ सय ९९ र कर्णाली प्रदेशमा १ सय ३२ वटा मुद्दा दर्ता भएका छन्।

१० महिनाको अवधिमा लागूऔषध सम्बन्धी मुद्दामा ६ हजार ७ सय २५ जना प्रतिवादी रहेका छन्। तीमध्ये ६ हजार २ सय ५२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकामध्ये २ सय ५९ जना विदेशी नागरिक रहेका छन्, जसमा २ सय ४४ जना भारतीय र अन्य देशका १५ जना छन्।

प्रहरीले सो अवधिमा ठूलो मात्रामा लागूऔषध बरामद गरेको पनि जनाएको छ। तीमध्ये ३७ हजार ५ सय २७ किलो गाँजा, ५ सय ४ किलो चरेस, साढे १५ किलो कोकिन, साढे २३ किलो हेरोइन, १३१ किलो अफिम र २२ किलो पोलेन बरामद भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए। 

प्रहरीको तथ्यांक अनुसार लागूऔषध दुर्व्यसनमा सबैभन्दा बढी युवापुस्ता छन्। १८ देखि ३० वर्ष उमेर समूहका ४ हजार ३ सय ३० जना पक्राउ परेका छन्।

१८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ४ सय ४५ रहेको छ भने ३१ देखि ५० वर्ष उमेर समूहका १ हजार ७ सय ७७ जना र ५१ वर्षभन्दा माथिका १ सय ७४ जना छन्। त्यस्तै, उमेर खुल्न नसकेका ८८ जना पनि छन्। लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको एसएसपी थापाले जानकारी दिए। 

जेठ ९, २०८२ शुक्रबार १९:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।