सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने

सुर्खेत : रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ। 

विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमानस्थल चार दिनदेखि बन्द गरिएको थियो। शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाज उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए।

 विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो।  

‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु पर्यो’ विमानस्थल प्रमूख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसँगै शनिबारबार जहाज नियमित गरिने छ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए। 

मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरीक्षण गरेका थिए। उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरूलाई भनेको बताए।

‘विमानस्थलमुनी पुरै पानी छ भन्ने आशंका प्राविधिकहरूको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नु पर्ने जरुरी भएको छ।’ 

जेठ ९, २०८२ शुक्रबार १८:०५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।