अर्थशास्त्रीलाई देउता जस्तो मानेर वादहरूको पछि लाग्न छोड्नुपर्छ : गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले असमानताको अन्त्य गर्न चाहने हो भने सैद्धान्तिक वादहरूको पछि लाग्न छोड्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टि : अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अर्थशास्त्रीहरूलाई "देउता" जसरी पुज्ने चलन र वादप्रतिको कट्टरता गलत भएको स्पष्ट पारे।
गभर्नर पौडेलले भने, ‘समानताको मुद्दा पूर्णरूपमा जायज छ। हामीले यो मुद्दा सम्बोधन गर्न चाहने हो भने एकै वादको पछि लागेर हुँदैन। ०६३ सालपछि केही सुधारका प्रयास भए पनि अझ धेरै गर्न बाँकी छ। पुँजीवाद अन्त्य हुन लाग्यो, समाजवाद मात्र ठीक हो भन्नेजस्ता अति राजनीतिक धारणाले समस्याको समाधान दिँदैन।’
उनले थपे, ‘कसैले पनि सबै सत्य देखेको हुँदैन। अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर ‘यो वाद भनेपछि त्यही हो’ भन्ने सोच्नु ठिक होइन। सबै वादका राम्रा पक्षहरू लिएर अघि बढ्न जरुरी छ।’
गभर्नर पौडेलले देशमा बढ्दो असमानताले समावेशी विकासलाई रोकिरहेको उल्लेख गरे। उनले कम्युनिष्ट आन्दोलनले समानताको मुद्दामा ल्याएको चेतना सकारात्मक रहेको बताउँदै भने, ‘हाम्रो देशमा केही जातहरूले मात्र लुटेको इतिहास छ। अहिले पनि अवस्था त्यहीँतर्फ जाँदैछ। देशमा करिब १४०-१४५ समुदाय र भाषा छन्। यस्तो विविधतामा असमानता कायम रहँदा देश अघि बढ्दैन।’
उनको धारणा अनुसार, असमानताको अन्त्य गर्न वाद होइन, व्यवहार र समावेशीतामा आधारित नीतिहरू आवश्यक छन्।
जेठ ९, २०८२ शुक्रबार १७:५३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।