शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने सवालमा कांग्रेस दृढ रहेको बताएका छन्।

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागद्वारा आयोजित ‘पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा बोल्दै देउवाले श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या देखिएको गुनासो आएको जनाए। उनले श्रम ऐन कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने स्पष्ट पारे।

‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ छ,’ देउवाले भने, ‘श्रम क्षेत्रका कानुनहरू कार्यान्वयनमा समस्या आएको छ भन्ने गुनासो छ। कांग्रेसले त्यसको समाधानका लागि अग्रसरता लिन्छ।’

सामाजिक सुरक्षा भत्ता वितरणसमेत समाजवादी अवधारणाअनुसार गरिनुपर्ने भन्दै उनले अपाङ्ग, अशक्त र गरिब व्यक्तिहरूले सहज रूपमा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

देउवाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि सहज बनाउने उद्देश्यले कानुन संशोधन गरी व्यवहारमा उतार्न जरुरी रहेको धारणा पनि राखे।

जेठ ९, २०८२ शुक्रबार १६:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।