पेटमा समस्या देखिएपछि कमेडियन गौडेल भारतको मेदान्त अस्पतालमा भर्ना

पेटमा समस्या देखिएपछि कमेडियन गौडेल भारतको मेदान्त अस्पतालमा भर्ना

काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’मार्फत दर्शकलाई हँसाउने कमेडियन मेक्सम गौडेल अहिले भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत छन्। प्याङ्क्रियाजमा समस्या देखिएपछि उनी उपचारका लागि भारत गएका हुन्।
युवा कमेडियन सुमन कार्कीले मेक्सम बिरामी भएको पुष्टि गर्दै अस्पतालको बेडमा पल्टिएको फोटो सेयर गरेका छन्। उनले फोटोसँगै मेक्समको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। कार्यक्रमका निर्देशक विशाल भण्डारीले पनि मेक्सम हाल मेदान्त अस्पतालमै उपचार गराइरहेको जानकारी दिँदै स्वास्थ्यमा सुधार भइरहेको बताए।

भण्डारीका अनुसार करिब दुई महिना अघिदेखि पेट दुख्ने समस्या देखिएपछि गौडेलले बानेश्वरस्थित सिभिल अस्पतालमा १२ दिन उपचार गराएका थिए। त्यसपछि थप परीक्षण र उपचारका लागि उनी भारत गएका हुन्। भण्डारीले भने, ‘कामको चापाचाप नभएको र अलिकपछि व्यस्त हुनुपर्ने भएकाले उहाँ दिल्लीको मेदान्त हस्पिटल जानुभएको हो,’ उनले थपे, ‘हिजो मात्रै कुराकानी हुँदा स्वास्थ्य अवस्था सामान्य नै छ। मेक्समसँगको कुराकानीमा अब १५ दिनपछिको फलोअपपछि नेपाल फर्कने कुरा छ। खास त्यस्तो केहि छैन।’

गौडेल अहिले फलोअपकै क्रममा भारतमा रहेका छन्। निर्देशक भण्डारीका अनुसार १५ दिनपछि उनी नेपाल फर्कने तयारीमा छन्।

रेडियो कार्यक्रममार्फत करियर सुरु गरेका मेक्सम ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका थिए। हाल उनी ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा स्ट्यान्डअप कमेडी गरिरहेका छन्। अभिनयतर्फ पनि सक्रिय उनी ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’ जस्ता फिल्ममा देखिएका छन्।

जेठ ९, २०८२ शुक्रबार १५:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।