जापानमा चामलको मूल्य दोब्बर, कृषिमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीले जनतासँग माफी मागे

टोकियो : जापानमा चामलको मूल्य अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। अप्रिल महिनामा जापानको मुख्य मुद्रास्फीति दर ३.५ प्रतिशतमा पुगेको छ। जुन बजारको अपेक्षाभन्दा माथि हो।
ताजा खाना बाहेकका उपभोक्ता वस्तुहरूको मूल्य वृद्धि पनि ३.२ प्रतिशतबाट बढेर ३.५ प्रतिशत पुगेको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार ऊर्जा बाहेकका वस्तुहरूको मूल्य अप्रिलमा ३.० प्रतिशतले वृद्धि भएको छ।
सन् २०२२ मा युक्रेनमा भएको रुसी आक्रमणपछि सुरु भएको मूल्यवृद्धि अझै शान्त भएको छैन। चामलको मूल्य वृद्धिमा जलवायु परिवर्तन, पर्यटक आगमन, बजारमा कृत्रिम अभाव, र व्यापारीहरूको जमाखोरीजस्ता कारणलाई प्रमुख ठहर गरिएको छ।
अत्यधिक गर्मी, कम वर्षा र खडेरीका कारण उत्पादन घट्दा आपूर्ति संकट परेको छ। त्यसमाथि गत वर्षको ‘महाभूकम्प’ चेतावनीपछि उपभोक्ताले अत्यधिक मात्रामा चामल किनेर भण्डारण गरेका थिए।
सरकारले मूल्यवृद्धि रोक्न आपतकालीन खाद्यान्न भण्डारणको केही हिस्सा बजारमा पठाए पनि चामलको मूल्य अप्रिल २०२४ मा ९८.४ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ।
चामल संकटको विषयमा कृषिमन्त्री ताकु इटोले आपत्तिजनक टिप्पणी गरेपछि जन आक्रोश चुलिएको थियो। उनले एउटा सभामा भनेका थिए, 'मैले चामल कहिल्यै किन्दिनँ, किनभने शुभेच्छुकहरूले यति धेरै चामल दिन्छन् कि म त बेच्न सक्ने अवस्थामा हुन्छु।'
यस टिप्पणीपछि मन्त्री इटोले राजीनामा दिनुपर्यो। प्रधानमन्त्री शिगेरु इशिबाले जनतासँग माफी माग्दै भने, 'उहाँलाई मन्त्री बनाउनु मेरो जिम्मेवारी थियो, त्यसैले म माफी चाहन्छु।'
इशिबाले थपे, 'चामलको मूल्य वृद्धि एउटा एकपटकको समस्या होइन, यो संरचनागत समस्या हो। हामीले यसबारे गम्भीर छलफल गर्नुपर्छ र मूल्य घटाउने उपाय तत्काल खोज्नुपर्छ।'
जेठ ९, २०८२ शुक्रबार १४:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।