देश समृद्धउन्मुख भएको प्रचण्डको दाबी, निराश नहुन आग्रह
गलकोट : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन्।
नेपाल समृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले निराशाको अन्त्य गरी स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिए।
बागलुङ बजारमा आयोजित माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले यहाँका जनतालाई आर्थिक समृद्धिसँग जोडेको बताए।
उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको स्मरण गर्दै आयोजना छिट्टै सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले मध्यपहाडी जनजागरण अभियानमार्फत आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए। उनले दलित, किसान, मजदुर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्न माओवादी केन्द्र मात्रै सक्षम रहेको दाबी गरे।
‘लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुलेको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ,’ अध्यक्ष दाहालले भने, ‘बागलुङको अछेते-गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढेको छ, गलकोट-म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ।’
उनले भने, ‘खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले त्यसका लागि वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो।’
नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको नेतृत्वमा सरकार आवश्यक रहेको आफ्नो धारणा राखे।
जेठ ९, २०८२ शुक्रबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।