गतिलो स्क्रिप्ट चुन्न नजान्दा गुमनाम भएका पुष्पलाई बल्ल जुर्यो फिल्म

काठमाडौं : एक समय थियो, अभिनेता पुष्प खड्काको फिल्ममा भ्याइँ नभ्याइँ हुन्थ्यो, म्युजिक भिडियो साइड लाग्थे! नवल नेपालको फिल्म ‘मंगलम्’मा काम गरेपछि उनी राता-रात स्टार बने।
‘मंगलम्’को व्यापार र त्यसमा रहेको ‘पर्ख पर्ख मायालु’ बोलको गीतले पुष्पलाई यति उचाइमा पुर्यायो कि फिल्म खेलाउनेको लाइनै लाग्यो। फिल्म चल्नासाथ उनले पारिश्रमिक पनि ह्वात्तै बढाए। सुन्दा अचम्म लाग्ला, कतै-कतै त अनमोल केसीकै हाराहारीमा एउटा फिल्मको ५० लाखसम्म डिमाण्ड गरेको चर्चा चलेको थियो!
तर, दर्शकमाझ छाइरहेको बेला उनी स्क्रिप्ट छान्न चुके। चिनेजानेकै भरमा कमजोर स्क्रिप्टलाई पनि ‘हुन्छ’ भन्न थाले! नाइ भन्नै सकेनन्। अझ पत्रकारले लेखेको फिल्म त जसरी नि चल्छ भन्ने भ्रम समेत परेको भान हुन्थ्यो। त्यतिबेला पुष्पले अभिनय गरेका ‘कृष्णलीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ फिल्म प्रदर्शनमा आए।
नतिजा? प्रदर्शनमा आएपछि यी तीनवटै फिल्म बक्स अफिसमा पत्ता साफ भए! ‘कृष्णलीला’लाई त उनले ‘करिअरकै टर्निङ प्वाइन्ट’ भनेका थिए, तर त्यो फिल्मले त हलमा ‘पानी’ समेत भन्न पाएन। ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीजस्ती ‘डिमान्डेड’ हिरोइन हुँदा पनि फिल्म डुब्यो। जतिसुकै प्रचार गरे पनि यसले पुष्पलाई उकास्नुको सट्टा झन् ‘अन्धकार’ तर्फ धकेल्यो। ‘मनसँग मन’ले त झन् दर्शकको मन छुनै सकेन।
लगातारको असफलतापछि बैरागिएका उनी फिल्मी दुनियाँबाटै हराए। करिब दुई वर्षसम्म न फिल्ममा देखिए, न म्युजिक भिडियोमा। एकाएक गुमनाम भए।
लामो ‘ब्रेक’पछि पुष्प फिल्ममा अनुबन्ध भएका छन्- महाराजधिराज। फिल्ममा उनी रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह, जयकिशन बस्नेत जस्ता कलाकारहरूको जमातमा मिसिएका छन्। उता हिरोइनमा पनि वर्षा राउत र वर्षा सिवाकोटी फाइनल भइसकेका छन्। सोलो हिरो बनेर फिल्म चलाउन नसकेपछि अहिले उनी ‘हिरोहरूको हुल’मा मिसिन बाध्य भएका छन्।
यो हिरोहरूको भिडमा पुष्पलाई आफ्नो छुट्टै पहिचान बनाउन उनलाई सजिलो छैन। नियमित काम गरिरहेका आर्यन, पल र रमेशका अगाडि आफूलाई पुन: प्रमाणित गर्न उनले 'एक्स्ट्रा' मेहनत गर्नुपर्ने देखिन्छ। नत्र अवस्था उही ‘कृष्णलीला’कै अवस्थामा नपुग्ला भन्न सकिन्न।
दुई वर्ष गुमनाम भएर बस्दा उनले अभिनयमा केही ‘निखार’ ल्याए कि उस्तै छन्? त्यो त फिल्म आएपछि दर्शकले नै ‘जज’ गर्नेछन्। अहिलेलाई यति कामना गरौँ, पुष्पको करिअरकै लागि भए पनि ‘महाराजधिराज’ चाहिँ ‘कृष्णलीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ जस्तो कमजोर नबनोस् समीक्षात्मक र आर्थिक हिसाबले।
जेठ ९, २०८२ शुक्रबार १३:४३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।