शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न गृहमन्त्री लेखकको निर्देशन

शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्ति सुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिए।

उनले विकास, समृद्धि र आर्थिक गतिविधिलाई चलायमान बनाउन शान्ति सुरक्षा अपरिहार्य रहेको बताए। दशवर्षे सशस्त्र द्वन्द्वका बेला कमजोर शान्ति सुरक्षाकै कारण विकास निर्माण अवरुद्ध भएको उदाहरण पनि उनले प्रस्तुत गरे।

मन्त्री लेखकले सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर भएको र सीमा क्षेत्रमा अपराध बढेको भन्दै चिन्ता व्यक्त गरे। यस्ता गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई थप मेहनतका साथ खट्न उनले निर्देशन दिए।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्री लेखकले विपद् प्रतिकार्यको तयारीलाई चुस्त र पूर्ण बनाउनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सुरक्षा निकायको भूमिका अपरिहार्य रहने उनको भनाइ थियो।

जेठ ९, २०८२ शुक्रबार १३:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।