पाकिस्तानले हवाइ क्षेत्र नदिँदा इन्डिगोको विमानमा ठूलो टर्बुलेन्स, श्रीनगरमा आपतकालीन अवतरण गर्दा ‘नोज कोन’मा क्षति

पाकिस्तानले हवाइ क्षेत्र नदिँदा इन्डिगोको विमानमा ठूलो टर्बुलेन्स, श्रीनगरमा आपतकालीन अवतरण गर्दा ‘नोज कोन’मा क्षति

एजेन्सी : गत २१ मेमा दिल्लीबाट श्रीनगरतर्फ उडेको इन्डिगोको एक विमान गम्भीर टर्बुलेन्सको चपेटामा पर्यो। असिनापानीका कारण उत्पन्न भएको खराब मौसमबाट बच्न पाइलटले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने अनुमति मागे पनि नपाउँदा विमानमा समेत क्षति भएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, अमृतसरको आकाशमाथि उडिरहेको बेला पाइलटले हल्का झट्का महसुस गरे। लगत्तै उनले लाहोर एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क गरी खराब मौसमबाट जोगिन पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागे।

लाहोर एटीसीले भने अनुमति दिन अस्वीकार गर्दै विमानलाई निर्धारित मार्गमै उड्न निर्देशन दियो। यसको केही समयपछि नै २२७ यात्रु बोकेको उक्त विमान तीव्र टर्बुलेन्समा फस्यो। हावामा यसरी हल्लिन थाल्यो कि भित्र रहेका यात्रुहरू डरले चिच्याउन र प्रार्थना गर्न थाले।

पाइलटले तुरुन्तै श्रीनगर एटीसीलाई खबर गरी आपतकालीन अवतरण गराए। सुरक्षित अवतरणपछि विमानको अगाडिको भाग (नोज कोन) क्षतिग्रस्त भएको पाइएको छ।

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने, २४ अप्रिलमा पहलगाम नजिक भएको आतङ्कवादी हमला (जसमा केही सुरक्षाकर्मीको ज्यान गएको थियो) पछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यही कारण देखाउँदै पाकिस्तानले २४ अप्रिलदेखि भारतीय उडानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने भारतले पनि त्यसको जवाफमा पाकिस्तानी उडानहरूका लागि आफ्नो आकाशमार्ग बन्द गरेको छ।

यद्यपि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियमअनुसार कुनै पनि देशले एक महिनाभन्दा बढी समयसम्म अर्को देशका लागि हवाई क्षेत्र बन्द गर्न सक्दैन। यस नियमअनुसार पाकिस्तानले २३ मेसम्म मात्रै भारतीय उडानहरूका लागि एयरस्पेस बन्द गर्न सक्नेछ।

एक यात्रुका अनुसार, अवतरण हुनुभन्दा करिब ३० मिनेट अघि ‘सिट बेल्ट कस्नू’ भन्ने सूचना आएको थियो। सुरुमा केही हल्का झट्का महसुस भयो तर २-३ मिनेटमै टर्बुलेन्स यति तीव्र भयो कि धेरैले यो नै जीवनको अन्तिम उडान हो कि भन्ने सोच्न थाले।

विमानको केबिनभित्रका सामानहरू यत्रतत्र खसे। क्रु सदस्यहरूले सबैलाई सिट बेल्ट कडा गरी बाँध्न निर्देशन दिइरहेका थिए। अन्ततः विमान श्रीनगरमा आपतकालीन अवतरण भएपछि मात्र यात्रुहरूले राहतको सास फेरे।

घटनापछि इन्डिगो एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै जनाएको छ कि फ्लाइट ६ई २१४२ मा अचानक असिनापानीका कारण टर्बुलेन्स उत्पन्न हुँदा फ्लाइट क्रु र केबिन क्रुले सबै सुरक्षा प्रोटोकल पालना गर्दै विमानलाई सुरक्षित रूपमा श्रीनगरमा अवतरण गराएका थिए। विज्ञप्तिमा भनिएको छ, ‘सबै यात्रीहरू सुरक्षित छन् र कोही पनि घाइते भएका छैनन्। हाल विमानको निरीक्षण र मर्मत कार्य श्रीनगरमा भइरहेको छ।’

जेठ ९, २०८२ शुक्रबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।