पहिलो साताको कमाइ ढाँटेको ‘ऊनको स्वीटर’ले दोस्रो हप्तामा आठ करोड १० लाख कमाएको निर्माण पक्षको दाबी

पहिलो साताको कमाइ ढाँटेको ‘ऊनको स्वीटर’ले दोस्रो हप्तामा आठ करोड १० लाख कमाएको निर्माण पक्षको दाबी

काठमाडौं : पहिलो साताको कमाइ ठाँटेको फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनको दुई हप्तामा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ।

निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिको दाबी अनुसार यो कमाई नेपालभित्र मात्रको हो। आजबाट प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले देशभर १२० भन्दा बढी शो पाएको छ। निर्माण पक्षले ओभरसिज कलेक्सन भने हालसम्म सार्वजनिक गरेको छैन, तर नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको दाबी गरिएको छ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।

एक साताअघि फिल्मले एक सातामा ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको दाबी गरेको थियो। तर, चलचित्र विकास बोर्डको बक्स अफिसमा भने फिल्मले एक सातामा ४ करोड ४ लाख ग्रस कलेक्सन गरेको देखिएको थियो। केही हल बोर्डको बक्स अफिस बाहिर रहे पनि डेढ करोडै ग्रस फरक पर्ने भने देखिन्न।

जेठ ९, २०८२ शुक्रबार ११:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।