सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत मल्लसहित ११ जना विरुद्ध २३ लाख भ्रष्टाचारको आरोपपत्र दायर

सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत मल्लसहित ११ जना विरुद्ध २३ लाख भ्रष्टाचारको आरोपपत्र दायर
सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरसहित ११ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित शहीदगेट देखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक काम भन्दा बढी मूल्याङ्कन गरी २३ लाख २२ हजार ८ सय ३२ रुपैयाँ १६ पैसा हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

करिब ४४ लाख रुपैयाँ अनुमानित लागतको उक्त योजनामा उपभोक्ता समिति गठन हुनुपूर्व नै सम्झौता गरी कार्यादेश दिएको, स्वीकृत लागत अनुमान बमोजिम काम नभएको र स्थलगत नापजाँच नगरी कम कामलाई बढी देखाएर कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको अनुसन्धानले देखाएको छ।

सडकको संरचना निर्माणमा ६६२३.८ घनमिटर उल्लेख गरिएकोमा नापजाँच गर्दा ३११३.०३ घनमिटर मात्र काम भएको पाइएको छ। उनीहरूले ३५१०.७५ घनमिटर बढी काम भएको देखाएर गैरकानूनी लाभ लिएको र गाउँपालिकालाई नोक्सानी पुर्याएको पुष्टि भएको आयोगले जनाएको छ।

आरोपपत्रमा सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब-इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, उपभोक्ता समितिका अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य धर्मराज जैसी र वडा नं. १० का तत्कालीन कार्यवाहक वडाध्यक्ष वीरेन्द्रबहादुर मल्ललाई प्रतिवादी बनाइएको छ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

जेठ ९, २०८२ शुक्रबार ११:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।