पुल भाँचिन थालेपछि ‘एक्सन’मा प्रशासन : ओभरलोड बोक्न पाउनुपर्ने उद्योगीको अडान, निर्णय नसच्चिए आन्दोलनको चेतावनी

बुटवल : यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १६.५ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टनभन्दा बढी भार बोक्न पाउँदैनन्। नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक ठूला सवारी साधनले यसको पालना नगरी दोब्बर भार बोक्ने गरेका छन्। जसका कारण सडक छियाछिया हुनुका साथै पुलसमेत भाँचिने र दब्ने गरेका छन्।
अधिक भारकै कारण पछिल्ला दिनमा कयौं पुलमा क्षति पुगेको छ। गत वैशाख ३० गते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुबारी खोलामा अधिक भारकै कारण स्टिल ट्रसको बीचको स्पानको सुपर स्ट्रक्चर भासियो। गत पुस २६ गते दुम्कीवासको विनयी खोलामा रहेको फलामे पुल एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा अधिक भारका कारण भाँचियो।
भार मिलान सम्बन्धी कार्यविधि २०७१ तथा ओभरलोड सम्बन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार विन्दुमै पल्टी गराउने व्यवस्था भए पनि यसको कार्यान्वयन नहुँदा सडक क्षमताभन्दा दोब्बर भार बोकेका मालवाहक सवारी साधन सडकमा निर्वाध कुदेका थिए। यसले सडक र पुल छियाछिया पारेको भन्दै भारतीय ओभरलोड गाडीले पुर्याएको क्षति रोक्न स्थानीय प्रशासन ‘एक्सन’ मा उत्रिएको छ।
रुपन्देही प्रशासनले भन्सार विन्दुमै भार मिलान गरेर मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाउन निर्णय गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतीय गाडीलाई ओभरलोड छुट दिँदा सडक र पुल जोखिममा पर्नुका साथै दुर्घटना समेत बढेको भन्दै भन्सार विन्दुमै भार मिलान गरेर सवारीलाई प्रवेश दिने निर्णय गरिएको बताए।
‘व्यवसायीले पटक-पटक उठाउँदै आएको सवाल थियो,’ उनले भने, ‘भन्सारमै भार मिलान गर्दा नेपाली सडक, पुल पुलेसाको संरक्षण हुनेछ।’
जिल्ला प्रशासनको निर्णयअनुसार, यो निर्णय पूर्ण कार्यान्वयनको व्यवस्था यातायात व्यवस्था कार्यालय, बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले आपसी समन्वय एवं सहकार्यमा गर्नेछन्। साथै नेपाली नम्बर प्लेट भएका नेपालभित्र सञ्चालन हुने ढुवानीका सवारी साधनका हकमा समेत तोकिएको भार क्षमताभित्र मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
यसका लागि भैरहवा भन्सार कार्यालयमा रहेको तौल मेसिनमा भैरहवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक/एक जना प्रतिनिधिले निरीक्षण गरेर भारवहन क्षमताभित्र रहेको सुनिश्चित गरेपछि मात्र सवारी साधन पास हुने व्यवस्था मिलाइएको छ।
निर्णयको कतै विरोध, कतै स्वागत
ओभरलोडकै कारण सडक र नेपाली यातायात क्षेत्र ध्वस्त भएको भन्दै भन्सार विन्दुमै भार मिलान गर्नुपर्ने आवाज पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बारम्बार उठाउँदै आएको थियो। प्रशासनको यो निर्णयपछि समितिका अध्यक्ष टीकाराम गौतमले प्रशासनको निर्णय स्वागत गर्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
‘हाम्रो आवाज बल्ल सुनिएको छ,’ उनले भने, ‘यो निर्णयले हामी नेपाली व्यवसायीहरू सुरक्षित हुनेछौँ। तर कार्यान्वयन पक्ष के हुन्छ हेर्न बाँकी छ।’
ट्रक व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशसहित लुम्बिनी प्रदेशका चार वटा ट्रक समितिले पनि भारवहनसम्बन्धी राज्यले बनाएका ऐन कानुनअनुसार भन्सार विन्दुमै भारतीय ट्रकको ओभरलोड नियन्त्रण गरिनुपर्ने माग गर्दै आएका थिए। ट्रक व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले नेपालका सडक र पुलले थेग्न नसक्ने गरी भारतीय सवारीले ओभरलोड बोकेकै कारण नेपालका सडक र पुल जोखिममा रहेको बताए।
‘हामीले सडकको क्षमता अनुसार मालबाहक सवारी चलाउनुपर्छ भनेर राज्यलाई भन्यौँ,’ उनले भने, ‘तर हाम्रो आवाज सुनिएन। अहिले पुलहरू भाँचिन थालेपछि भन्सार विन्दुमै भार मिलान गर्ने प्रशासनले निर्णय गरेको छ। ढिलै भए पनि हाम्रो मागको सुनुवाइ भएको छ।’
यता, केही व्यवसायीहरूले भने भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक ट्रकलाई भन्सार कार्यालय परिसरमै भार मिलान गर्ने निर्णयको विरोध जनाएका छन्। यो निर्णयले परासी, लुम्बिनी कोरिडोर क्षेत्रका उद्योगीहरू दोहोरो भाडादरले मर्कामा पर्ने भन्दै उद्योगी व्यवसायीले विरोध जनाएका हुन्।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले उक्त निर्णय व्यावहारिक नभएको दाबी गरे। उनले कोभिड र आर्थिक मन्दीका कारण शिथिल बनेका उद्योगीहरू प्रशासनको यो निर्णयले बन्द गर्ने अवस्थामा पुग्ने प्रशासनको निर्णय नसच्चिए आन्दोलन गर्ने चेतावनी दिए।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको एकतर्फी निर्णय व्यावहारिक छैन। यो निर्णय सच्याइएन भने हामी आन्दोलन गर्छौँ।’
उनले नेपाल आयल निगममा आउने ८० टनभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, ८५ टनभन्दा माथि आउने मार्बल उद्योगका ढुङ्गा तथा तेस्रो मुलुकबाट आउने सोयाबिन तेल, सनफ्लावर तेल बोकेका ट्याङ्करहरूको हकमा यो निर्णय कसरी लागू हुन्छ भन्ने प्रश्न समेत उठाए।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने भन्सार विन्दुमा भार मिलानका लागि प्रमुख जिल्ला अधिकारीको निर्देशनात्मक परिपत्र भन्सार ऐन २०६४ को दफा ८८ को विपरीत हुने बताए।
उनले भन्सार परिसरभित्र रहेको मालवस्तु भन्सार कार्यालयबाट जाँचपास भई भन्सार क्षेत्रबाट नहटाएसम्म सो मालवस्तुका सम्बन्धमा कुनै अधिकारी वा निकायले कुनै प्रकारको हस्तक्षेप गर्न नमिल्ने कानुनी प्रावधान रहेको जानकारी दिए।
ओभरलोडले सडक छियाछिया
मापदण्ड विपरीत अधिक भारवहनले रुपन्देहीका मात्र नभई पहाडी जिल्लाका सडक पनि छियाछिया बनेका छन्। दाङको घोराही-कमिरेचौर सडक, घोराही-लमही र तुलसीपुर-कपुरकोट सडक अधिक भार बोकेका सवारी साधनका कारण जीर्ण बनेका छन्।
भैरहवा-लुम्बिनी क्षेत्रको सडक पनि निर्माण सम्पन्न भएको ३ वर्षमै खाल्डाखुल्डी परेको छ। घोराही-कमिरेचौर र घोराही-होलेरी सडक पनि अधिक चुनढुङ्गा बोकेका सवारी साधनका कारण बिग्रँदै गएका छन्। १७ टन बोक्न मिल्ने उक्त सडकमा ३० टनसम्मका सवारी साधन चल्ने गरेका छन्।
रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन्। तीमध्ये ६० प्रतिशतभन्दा बढी गाडीले ओभरलोड बोक्ने गरेका छन्। भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढी मात्रामा ओभरलोड हुने गर्छन्।
यस्तै पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियामा पनि सडकको हालत उस्तै छ। यी जिल्लामा पनि मालबाहक सवारीले अधिक लोड बोक्ने गरेका छन्। चुरे पहाडका खानीबाट कच्चा पदार्थ ढुवानी गर्ने टिपर, बेलहिया, कृष्णनगर, रुपैडियाबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहितका भारतीय मालवाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्।
जेठ ९, २०८२ शुक्रबार १०:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।