हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको निर्णय, भएका विद्यार्थीलाई अन्तै सर्न निर्देशन

एजेन्सी : अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थीलाई भर्ना लिन पाउने हार्वर्ड विश्वविद्यालयको अनुमतिपत्र रद्द गरेको छ।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गृह सुरक्षा विभागलाई हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको अनुमति तत्काल लागू हुने गरी रद्द गर्न आदेश दिएकी छन्।
यो अनुमति पुन: प्राप्त गर्नका लागि विश्वविद्यालयले ७२ घण्टाभित्र विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बारेमा सरकारलाई जानकारी दिनुपर्नेछ।
अनुमतिपत्र खारेज भएसँगै अहिले विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीहरूलाई अन्य संस्थाहरूमा स्थानान्तरण गर्न भनिएको छ। अन्यथा, उनीहरूले देश छोड्नुपर्ने हुनसक्ने बताइएको छ।
विगत केही हप्तादेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर लफडा भइरहेको छ।
यसअघि गृह सुरक्षा विभागले अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध नगराए अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको थियो। विश्वविद्यालयले विवरण उपलब्ध गराए पनि त्यसबाट ट्रम्प प्रशासन सन्तुष्ट छैन।
हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत अर्थात छ हजार आठ सय विदेशी विद्यार्थी अध्ययनरत छन्। त्यहाँ भएका अधिकांश विद्यार्थीहरू एफ-१ वा जे-१ भिसामा छन्।
एफ-१ भिसा अमेरिकी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको लागि हो भने जे-१ भिसा विद्वान र अनुसन्धानकर्ताहरू सहित एक्सचेन्ज आगन्तुकहरूको लागि हो।
जेठ ९, २०८२ शुक्रबार ०८:१९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।