लखनऊसँग ३३ रनले हार्यो शीर्ष स्थानको गुजरात

लखनऊसँग ३३ रनले हार्यो शीर्ष स्थानको गुजरात

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ।

जितका लागि लखनउले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन मात्र बनाउन सक्यो।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाएर २ सय ३५ रनको विशाल योगफल खडा गरेको थियो।

लखनउका लागि ओपनरद्वय एडेन मार्क्रम र मिचेल मार्शले पहिलो विकेटका लागि ९१ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। मार्क्रम २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाएर गुजरातका साइ किशोरको बलमा आउट भए।

मार्क्रम आउट भएपछि मिचेल मार्शलाई निकोलास पुरनले साथ दिए। यी दुईबीच दोस्रो विकेटका लागि ठूलो साझेदारी भयो।

मिचेल मार्शले ५६ बलमा १० चौका र ६ छक्कासहित आफ्नो शतक पूरा गरे। उनी ६४ बलमा १० चौका र ८ छक्कासहित १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए।

निकोलास पुरनले २७ बल खेल्दै अविजित ५६ रन बनाए भने कप्तान ऋषभ पन्त १६ रनमा अविजित रहे। गुजरातका लागि साइ किशोर र अर्शद खानले एक/एक विकेट लिए।

२ सय ३६ रनको चुनौती पछ्याएको गुजरातको ब्याटिङको सुरुवात खासै राम्रो रहेन। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा र जोश बटलर ३३ रनमा आउट भएपछि ९६ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो।

विशाल लक्ष्य पछ्याउन गुजरातलाई त्यसपछि ठूलो साझेदारीको आवश्यकता थियो। शेर्फेन रुथरफोर्ड र शाहरुख खानले चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आशा जगाए। रुथरफोर्ड ३८ रनमा र शाहरुख २९ बलमा ५७ रन बनाएर आउट भए।

त्यसपछि भने अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् र गुजरात लक्ष्यभन्दा ३३ रन टाढै रोकियो। लखनउको बलिङतर्फ विल ओलेले सर्वाधिक ३ विकेट लिए भने आवेश खान र आयुषले समान दुई/दुई विकेट लिए।

जेठ ९, २०८२ शुक्रबार ०७:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।