उकेरा प्रभाव : मिलेमतोमा अगाडि बढेको चार करोडको ल्याप्रोस्कोपीक सिस्टम टेन्डर रद्द हुँदा एनेस्थेसियाको सेटिङ सदर

काठमाडौँ : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले तीन वटा टेन्डर रद्द गरेको छ। महाशाखाले बिहीबार फोके थ्रिडी ल्याप्रोस्कोपिक सिस्टम, पौष्टिक आहार र फर्मुला मिल्कको तीन टेन्डर रद्द गरेको हो। मिलेमतोमा अगाडि बढेका मेसिन तथा उपकरण खरिद प्रक्रियालाई पनि विभागले निरन्तरता दिएको छ।
बिहीबार प्रकाशित सूचनामा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’, ‘प्रकुमेन्ट अफ एफ-७५ र एफ–१००’ (फर्मुला मिल्क) र ‘प्रकुमेन्ट अफ रेडी टु युज थेराप्युटिक फुड (पौष्टिक आहार)’को टेन्डर रद्द भएको उल्लेख छ।
महाशाखाले २०८१ मंसिर २३ मा करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ खरिद गर्ने गरी टेन्डर आव्हान गरेको थियो। खरिद प्रक्रियाको प्रारम्भमै निश्चित मेसिन उत्पादक कम्पनीसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन बनाइएको थियो। यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। महाशाखाले बिहीबार सोही टेन्डर रद्द गरेको हो।
बिहीबार प्रकाशित सूचनामा २०८२ जेठ २ (२०२५ मे १६) को निर्णय अनुसार टेन्डर रद्द भएको उल्लेख छ। महाशाखाले टेन्डर रद्द गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-एन-एनसीबी-३२-एमडी-२०८१-८२’ हो।
२०८२ वैशाख २५ (२०२५ मे ८) को निर्णय अनुसार ‘प्रकुमेन्ट अफ एफ–७५ र एफ–१००’ र ‘प्रकुमेन्ट अफ रेडी टु युज थेराप्युटिक फुड (आरयूटीएफ)’को टेन्डर रद्द भएको सूचनामा उल्लेख छ।
‘प्रकुमेन्ट अफ एफ–७५ र एफ–१००’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-२१-एफडब्लुडी-२०८१-८२’ हो भने ‘प्रकुमेन्ट अफ रेडी टु युज थेराप्युटिक फुड (आरयूटीएफ)को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-२०-एफडब्लुडि-२०८१-८२’ हो।
विभागले आव्हान गरेको अधिकांश मेसिन, उपकरण तथा स्वास्थ्य सामग्रीको खरिद प्रक्रियामा बदनियत गरेर निश्चित कम्पनीको स्वार्थमा अगाडि बढेको खुलेका थिए। ती अधिकांश खरिद प्रक्रिया भने विभाग नेतृत्वले अगाडि बढाएको छ।
अहिले विभागको महानिर्देशकमा डा टंकप्रसाद बाराकोटी छन्। व्यवस्थापन महाशाखा प्रमुखमा डा पवनजंग रायमाझी र खरिद शाखा प्रमुखमा दयाकृष्ण पन्त छन्। खरिदको डकुमेन्ट मिलाउने दीपक अधिकारी हुन् भने बायोमेडिकल इन्जिनियर आशिष चौहान हुन्। यी बाहेक मिलेमतोमा खरिद अगाडि बढाउन लेखा, प्रशासनदेखि कानुनी सल्लाहकारसम्मको भूमिका हुन्छ नै।
खरिदको नियमन र आवश्यक निर्देशन दिने जिम्मेवारी स्वास्थ्य मन्त्री र सचिव हो। मिलेमतोमा अगाडि बढेका अधिकांश टेन्डरको समयमा विभागको महानिर्देशक अहिलेका स्वास्थ्य सचिव डा विकास देवकोटा नै थिए। मन्त्री प्रदीप पौडेल मिलेमतोमा अगाडि बढेको खरिदबारे प्रारम्भदेखि नै मौन थिए। अधिकांश मिलेमतोको टेन्डर प्रक्रिया अगाडि बढाएको समूहले लाज जोगाउन केही टेन्डर रद्द गरेको देखिन्छ।
अधिकांश सेटिङ पास हुँदा ल्याप्रोस्कोपिक फेल
विभागले अन्य टेन्डरहरूजस्तै ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को टेन्डर प्रक्रिया पनि प्राविधिक स्पेसिफिकेसन नै लक्ड गरेर निश्चित सप्लायर्स कम्पनीलाई नै दिनेगरी प्रक्रिया अगाडि बढाएको थियो।
उकेराको अध्ययनमा यो मेसिनको स्पेसिफिकेसनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’सँग मात्रै मिल्ने गरी बनाइएको र यो टेन्डर कार्ल स्टोर्जका नेपाली सप्लायर्सलाई दिनेगरी मिलेमतो गरेको खुलेपछि उकेराले स-प्रमाण समाचार सम्प्रेषण गरेको थियो।
उकेराको खोजमा चितवनको भरतपुर अस्पतालले एक वर्ष अघि २०८० जेठ २२ मा टेन्डर गरेर ‘कार्ल स्टोर्ज’कै ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ भ्याट बाहेक एक सेट एक करोड ६४ लाख ९८ हजारमा किनेको खुलेको थियो।
निजामती कर्मचारी (सिभिल)अस्पतालले २०८० चैत २१ मा मूल्य अभिवृद्धि कर सहित चार करोड ९८ लाख ५५ हजार ‘कार्ल स्टोर्ज’कै दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक सिस्टम’ खरिद गरेको खुलेको थियो। यी दुवै अस्पतालमा मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’को नेपाली सप्लायर्स ‘हिमालय मेडिकल टेक्नोलोजी प्रालि (एचएमटी)ले टेन्डर पाएको थियो।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड पनि भरतपुर र सिभिलको भन्दा फरक थिएन। यदि खरिद प्रक्रिया रद्द नभएको भए यो एचएमटीले नै पाउँथ्यो।
एनेस्थेसियाको सेटिङ अनुमोदन
तर, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ‘४के-३डी ल्याप्रोस्कोपीक स्टिम’लगायतका तीन वटा टेन्डर रद्द गरे पनि अन्य सेटिङअनुसारकै टेन्डर भने भटाभटी अगाडि बढिरहेका छन्। केही टेन्डर स्वीकृत भइसकेका छन् भने केही स्वीकृतिका चरणमा पुगेका छन्।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ‘ऐनस्थेसिया मेसिन’को टेन्डर स्वीकृत गरिसकेको छ। बिहीबार नै टेन्डर स्वीकृतिको सूचना जारी गर्दै सात करोड ३१ लाखमा खरिद गर्ने गरी महाशाखाले ‘पर्सा साइन्स इम्पोरियम’लाई ‘ऐनस्थेसिया मेसिन’को टेन्डर स्वीकृत गरेकोबारे सूचना प्रकाशित गरेको छ।
पर्सा इम्पोरियम मिलेमतोमा बदनाम कम्पनी हो। यस अगाडि यही कम्पनीले नारायणीमा गरेको एकल प्रस्ताव प्राविधिक रूपमा पास भएको थियो।
महाशाखाले २०८१ मंसिर २३ मा ‘ऐनस्थेसिया मेसिन’ किन्न टेन्डर आव्हान गरेको थियो। ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसन निश्चित मेसिन उत्पादक कम्पनीको क्याटलगका बुँदा नै कपिपेस्ट गरेर टेन्डरको स्पेसिफिकेसन बनाएकोबारे उकेराले खुलासा गर्दै समाचार सम्प्रेषण गरेको थियो। महाशाखाले टेन्डर आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी-३५-एमडी-२०८१-८२’ हो।
उकेराको अध्ययनमा ‘ऐनस्थेसिया मेसिन’को टेन्डर कागजात हेर्दा स्पेसिफिकेसनमा उत्पादक कम्पनीको क्याटलग नै कपिपेस्ट गरेर लक्ड गरे पनि १० भन्दा बढी कम्पनीले प्रस्ताव पेस गरेका थिए।
महाशाखाले ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक मूल्याङ्कनको चरणमा नक्साल ठेगाना रहेको ‘इम्पेरियल मेडिलिंक प्रालि’, बालुवाटार ठेगाना रहेको ‘लुम्बिनी हेल्थ केयर प्रालि’ र पर्साको वीरगन्ज ठेगाना रहेको ‘पर्सा साइन्स इम्पोरियम’लाई छनोट गर्यो। यसमध्ये पर्सालाई टेन्डर दियो।
टेन्डर प्रक्रियामा बदनियतपूर्ण रूपमा अयोग्य ठहर्याएको भन्दै केही कम्पनीले निवेदन दिएको थियो। कम्पनीको दाबी मिले पनि अन्तमा विभाग नेतृत्वले पेलेर मिलेमतो अनुसारै पर्सालाई टेन्डर दिने निर्णय गरेको देखिन्छ।
सम्बन्धित समाचार
जेठ ८, २०८२ बिहीबार २२:२९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।