कहिल्यै नभत्कने अध्यागमनको मानव तस्करी सेटिङ, गृहमन्त्री लेखक समेत शंकामा

काठमाडौँ : भिजिट भिसामा खाडी मुलुक र युरोप पठाउन संलग्न गिरोहसँग मिलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ५ जना तारिखमा छुटेका छन्। बिहीबार पक्राउ परेका भट्टराईसहित पाँच जनालाई आयोगले बिहीबार एक साताको तारिख दिएर छाडेको हो।
आयोगले बुधवार विमानस्थलको अध्यागमन प्रमुख रहँदा गिरोहसँग मिलेर वैदेशिक रोजगारीका लागि भिजिट भिसामा विदेश जान चाहनेहरूसँग ५० हजारदेखि तीन लाखसम्म असुल्ने गरेको सूचनाको आधारमा भट्टराईसहित कविता पौडेल, खगेन्द्र सुवेदी र हात्तीसारको ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई पक्राउ गरेको थियो।
ग्रिन लाइनका सञ्चालकले आफ्नो सम्पर्कमा आएका विदेश जान चाहनेहरूलाई भिजिट भिसामा सहजै विमानस्थलबाट जान दिने वातावरण बनाउन कविता र खगेन्द्रसँग मिलेर गिरोह चलाएको र उनीहरूको योजना अनुसार रकम लिएर भट्टराइले उनीहरूलाई प्रक्रिया पुरा नभए पनि विदेश जान दिने गरेको सूचनाको आधारमा आयोगले विमानस्थलमा रहेको अध्यागमनको कार्यालयमा छापा मारेर फाइलहरू र पक्राउ आरोपीहरूको मोबाइल नियन्त्रणमा लिएको थियो।
अख्तियारले गोप्य रूपमा अनुसन्धान गरिरहेकै बेलामा मन्त्रालयले शङ्कास्पद रूपमा मंगलबार बेलुका भट्टराईलाई अध्यागमनको प्रमुखबाट मन्त्रालयमा सरुवा गरेपछि बुधवार दिउस अख्तियारले छापा मारेको थियो।
कहिल्यै नभत्कने अध्यागमन सेटिङ
विभिन्न मुलुकमा अवैध रूपमा वैदेशिक रोजगारका लागि भिजिट भिसामा जानेहरू बढेसँगै सरकारले भिसा प्रक्रियामा कडाइ गर्दै भिजिट भिसामा समेत सर्तहरू राखेको थियो। मानव तस्करीमा सक्रिय समूहहरूले उतै कामदार भिसा पाइने भन्दै प्रलोभनमा पारेर भिजिट भिसामा पठाएका अधिकांशहरू काम नपाएर उतै अलपत्र पर्ने क्रम बढेपछि यस अगाडि पनि विमानस्थलमा अख्तियारले छापा मारेर अध्यागमनका कर्मचारीहरू पक्राउ गरेको थियो।
बालकृष्ण खाण गृहमन्त्री हुँदा विमानस्थलमा सङ्गठित रूपमै यस्तो धन्दा भइरहेको र प्रति व्यक्ति २० हजारदेखि ५० हजारसम्म असुल्ने गरेको खुलेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत अनुसन्धान गरेर अध्यागमनका कर्मचारी र बिचौलिया गरेर २२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा तत्कालीन समयमा चार जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने अधिकांशको नाममा धरौटी निस्किएको थियो।
अनुसन्धानमा गिरोहको सम्पर्क गृह मन्त्रालयसम्म देखिए पनि गृहका उच्च अधिकारीहरू कोही पनि अनुसन्धानमा तानिएनन्। भिजिट भिसामा युएई गएर उतै अलपत्र पर्ने नेपालीहरूको संख्या बढेपछि खाणले छानबिन गर्न समिति गठन गरेका थिए।
समितिले बुझाएको प्रतिवेदनमा वैदेशिक रोजगार अनुमतिप्राप्त व्यवसायी र संस्था, वैदेशिक रोजगार व्यवसाय प्रवर्धन, श्रम प्रतिनिधि, स्वास्थ्य परीक्षणमा संलग्न व्यक्तिहरू, अभिमुखीकरण तथा सीप विकास तालिम सञ्चालन गर्नेहरू, पैसा सटही गर्नेहरू, भिसा प्रोसेसिङ गर्नेहरू यस्तो धन्दामा संलग्न रहेको उल्लेख थियो।
भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र, वायुसेवासँग सम्बन्धित व्यक्तिहरू, इन्टर्नसिपका लागि विदेशमा विद्यार्थीको रूपमा पठाउने होटेल व्यवस्थापन तथा तालिम प्रदायक संस्थाका प्रतिनिधिहरू समेत यसमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख थियो। प्रतिवेदनमा वैदेशिक रोजगारीमा संलग्न संस्था र व्यक्ति, टुर अपरेटर, बायु सेवा निगममा काम गर्नेहरू देखि लिएर कला, सङ्गीत र खेल क्षेत्रका संस्था र पदाधिकारीहरू समेत भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न रहेको उल्लेख थियो।
शंकामा गृहमन्त्री लेखक
बुधवार अख्तियारले गरेको छापामारी र पक्राउ गरिएकाहरूका आधारमा पनि यस अगाडि गृहको छानबिन समितिले जुन रूपमा विमानस्थलबाट सङ्गठित रूपमा भिजिट भिसामा तस्करी हुने गरेको खुलाएको थियो त्यही देखियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखसँगै पक्राउ परेकाहरूमा बिचौलिया र ट्राभल्स एजेन्टसम्म छन्।
प्रहरीको अनुसन्धानमा अध्यागमनका त्यत्रा कर्मचारी छानबिनमा तानिए पनि गृहले आफ्नै कर्मचारीहरूको संलग्नताबारे भने गम्भीरतापूर्वक अनुसन्धान गरेन। छानबिन समितिले पनि प्रहरी र अध्यागमनका कर्मचारीको मिलेमतोमा कसरी मानव तस्करी भइरहेको छ र त्यसलाई नियन्त्रण गर्न अपनाउनु पर्ने उपायसम्म पुगेन। जसको नतिजा अहिले आफ्नै संगठनको अध्यागमन प्रमुखसम्म यो गम्भीर अपराधको अनुसन्धानमा तानिएका छन्।
अख्तियार अनुसन्धानमै रहँदा एकाएक रातारात भट्टराइको सरुवा गर्ने निर्णयले अहिले अध्यागमनमार्फत विमानस्थलमा चलिरहेको मानव तस्करीको धन्दा गृह मन्त्रालयको नेतृत्वसम्म पुग्ने शंका बढाएको छ। गृहमन्त्री रमेश लेखकको भूमिका समेत निकै शङ्कास्पद देखिन्छ।
सम्बन्धित समाचार
जेठ ८, २०८२ बिहीबार २१:३९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।