राजनीतिक भागबन्डामा गरियो लुम्बिनीका अस्पतालमा अध्यक्ष नियुक्त

बुटवल : लुम्बिनी प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा सत्तारुढ दल बीच भागबन्डा भएको छ। एमालेका चेतनारायण आचार्य नेतृत्वको सरकार रहेको लुम्बिनी प्रदेशमा सत्ता साझेदार काँग्रेस र एमालेबीच पद बाँडफाँड गरिएको हो।
प्रदेश सरकारले हालै नियुक्त गरेको सूची अनुसार ७ वटा अस्पतालमा एमाले निकट व्यक्ति अध्यक्ष बनेका छन् भने ६ वटा अस्पतालमा काँग्रेस निकटलाई जिम्मेवारी दिइएको छ।
एमालेको कोटाबाट लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा अजयमान श्रेष्ठ, गुल्मी जिल्ला अस्पतालमा राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल, पाल्पामा युवराज खनाल, अर्घाखाँची जिल्ला अस्पतालमा बलराम मिश्र, कपिलवस्तु जिल्ला अस्पतालमा रञ्जिकुमार शर्मा, पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा जगदीश चौधरी र भालुवाङ अस्पताल, दाङमा सूर्यप्रकाश शर्मा अध्यक्ष बनेका छन्।
यसैगरी नेपाली काँग्रेसको कोटाबाट अध्यक्ष बन्नेमा राप्ती प्रादेशिक अस्पताल, दाङमा महेन्द्रराज लामिछाने, प्युठान जिल्ला अस्पतालमा कृष्णप्रसाद बसेल, रोल्पा जिल्ला अस्पतालमा शेरबहादुर थापा, भीम अस्पताल, भैरहवामा कुलप्रसाद न्यौपाने, पाल्पा जिल्ला अस्पतालमा अजय कर्मचार्य र रुकुम पूर्व जिल्ला अस्पतालमा लोकेन्द्र शाह रहेका छन्।
रुपन्देहीका दुई र दाङको एक आयुर्वेद अस्पतालमा भने अध्यक्षको नियुक्ति प्रक्रिया अझै बाँकी रहेको छ। गएको वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा अस्पताल विकास समिति खारेज गरेको थियो। त्यसअघि २०८० कार्तिक ७ गते एमाले–माओवादी सत्ता साझेदारीकालमा पनि भागबन्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको थियो।
प्रदेशभर १३ वटा आयुर्वेद अस्पताल छन्। यी अस्पतालमा पनि चाँडै अध्यक्ष नियुक्ति हुने बताइएको छ।
जेठ ८, २०८२ बिहीबार २१:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।