श्रीमतीको हत्या गरि पूजाकोठामा गाडेर छोरीसहित गायब भएका यादव पक्राउ

श्रीमतीको हत्या गरि पूजाकोठामा गाडेर छोरीसहित गायब भएका यादव पक्राउ

धनुषा : २०८१ साल फागुन १७ गतेको दिउँसोको कुरा हो। बनिनियाँ, लक्ष्मिनिया गाउँपालिका–५, धनुषाका ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवमाथि कुटपिट गरे। त्यसपछि उनलाई घरनिकाला गरे। सुरुमा यो घटनालाई समान्य घरेलु विवादको रुपमा हेरियो। तर केही दिनपछि त्यो विवादले डरलाग्दो रुप लियो।

अञ्जली सम्पर्कविहीन भएपछि गाउँलेहरूलाई शंका लाग्न थाल्यो। हरिराम पनि देखिएका थिएनन्। हरिरामको घरमा ताला लागेको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धानको सुरू भयो।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुग्यो। घरको ताला फोडेर जाँच गर्दा भुइँतलामा रहेको कुलदेवताको पूजा कोठामा भर्खरै सिमेन्ट ढलान गरिएको जस्तो देखियो। गन्ध र शङ्काले प्रहरीलाई झस्कायो। उत्खनन गर्दा करिब दुई फिट गहिरो जमिनमा अञ्जली यादवको शव भेटियो।

मृतककी बुबा शिवधारी यादवले तत्काल हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए। त्यसपछि हरिरामविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरियो। तर त्यो बेलादेखि हरिराम १० महिनाकी छोरी सहित फरार थिए। हरिरामको कुनै अत्तोपत्तो थिएन।

प्रहरी टोलीले विभिन्न स्रोत र सूचनाको आधारमा खोजी जारी राख्यो। प्रहरीले बिहिबार बिहान उनलाई जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेसनमा फेला पार्यो। उनी पक्राउ परे। 

पक्राउसँगै प्रहरीले उनीसँग बयान लिइरहेको छ। हरिरामसँगै हराएकी उनकी १० महिनाकी छोरीको अवस्थाबारे पनि खोजी सुरु भएको छ।

जेठ ८, २०८२ बिहीबार २०:०८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।