टिकटकबाट महिलाको ट्र्यापमा फस्दा एक युवाले झन्डै गुमाएनन् घर

टिकटकबाट महिलाको ट्र्यापमा फस्दा एक युवाले झन्डै गुमाएनन् घर

काठमाडौँ : टिकटकबाट चिनजान भएकी एक युवतीको विश्वासमा परेर भेटघाट गर्ने र सँगै बसेर मदिरा पिउनेसम्मको सम्बन्धमा पुग्दा एक युवाले झन्डै घर गुमाउनु परेको थियो। टिकटक गर्लको नामबाट आएको फ्रेण्ड रिक्वेस्ट स्वीकार गरेर च्याट गर्दै भेटघाटमा गएर कपीबाट मदिरासम्म पुग्दा ती युवा हन ट्र्याप (लोभ्याएर फसाउने) मा परेका थिए।

पहिला टिकटकमा सामान्य कुराकानी हुँदै ठमेलमा कफी र पछि होटेलमा बसेर मदिरा पिउनेक्रममा ती युवा ट्र्यापमा परेका थिए। युवकले प्रहरीमा दिएको निवेदन अनुसार होटेलमा मदिरा पिउनेक्रममा दुई युवती र उनी सँगै थिए। पिउँदै जानेक्रममा उनी बेहोस भए। त्यसको केही दिनपछि टिकटकको नयाँ आइडीबाट अर्धनग्न तस्बिर र भिडियो क्लिपहरू पठाएर एउटा घर वा चार आना जग्गाको माग सुरु भएको थियो।

प्रहरीका अनुसार ती युवतीसँगै अन्य दुई युवा समेत मिलेर बलात्कारको जाहेरी दिनेसम्मको धम्की दिँदै पैसा माग गरेपछि ती युवाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय गएका थिए। कार्यालयमा सबै कुरा भनेपछि प्रहरी ती युवती र युवाको खोजीमा प्रहरी खटियो।

युवकलाई धम्क्याएर पैसा मागेपछि उनले पाँच लाखको चेक तयार पारेर पैसा लिन बोलाएका थिए। त्यही बेलामा प्रहरीले उनीहरूलाई चेकसहित पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेकाहरूमा कैलाली गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन्।  अन्य दुई युवा भने फरार छन्।

यो अपराधको शैली नयाँ भने हैन। यस अगाडि अपरिचित युवतीहरूले फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाएर कुराकानी गर्दै युवाहरूलाई भेट्न बोलाएर होटेल अनि गेस्ट हाउसमा लगेर तस्बिर र भिडियो खिचेर ब्ल्याकमेल गर्ने गरेका थिए। अहिले पनि यस्तो धन्दामा सक्रिय समूहले टिकटकलाई हतियार बनाउने गरेको बिहीबारको घटनाले देखाएको छ। 

जेठ ८, २०८२ बिहीबार १९:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।