अभिनयमा फर्किएकी बिपना अभिनेत्रीबाट चरित्र अभिनेत्रीमा रमाउँदै

काठमाडौं : डेढ दशक अघिसम्म नेपाली फिल्ममा बिपना थापाको चकाचक थियो। डेब्यु फिल्म ‘जन्मभूमि’बाट नै चर्चा बटुलेकी उनले त्यसपछि लगातार फिल्म ‘अप्सरा’, ‘नाता रगत’, ‘आगो’,‘तँ त सारै बिग्रिस् नि बद्री’,‘मितिनी’ लगायतमा अभिनय गरिन्।
पहिलो फिल्मले नै दर्शकमाझ चिनाएपछि निर्माताहरू बिपनालाई आफ्नो फिल्ममा अभिनय गराउन लाइन लाग्थे। कारण, कथाको पात्रको गहिराइसम्म पुगेर अभिनय गर्थिन्, पिडादायी रुवाइले दर्शकको मन छुन्थ्यो।
फिल्ममा अभिनय गर्दागर्दै १६ वर्षअघि भारतीय नागरिकसँग विवाह गरेर उनी दिल्ली लागिन्। यसपछि उनको अभिनयक्रममा ब्रेक लाग्यो। कहिलेकाहीँ नेपालमा हुने फिल्म अवार्ड कार्यक्रममा भने देखा पर्थिन् उनी। नत्र अधिकांश बसाई भारततिर।
नेपाली फिल्मलाई चट्टै माया मारेको गुनासोकैबीच गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा काम गरिन्। अभिनेत्रीको भूमिका निवार्ह गर्दै आएकी उनी १६ वर्षपछि अभिनेता हरिहर अधिकारीको आमाको भूमिकामा देखिएकी थिइन्। उनको कमब्याक राम्रै भयो। बिपनाको अभिनयले तारिफ भयो। बिपनाले अनमोल केसीको आमा बनेर अभिनय गरेको ‘जेरी अनटप’मा प्रदर्शनमा आउन बाँकी छ।
निर्देशक चन्द्र पन्तले अब फिल्म ‘आ बाट आमा’मा बिपनालाई केन्द्रीय पात्रमा अनुबन्ध गरेका छन्। आमा र सन्तानबीचको कथामा निर्माण हुन लागेको फिल्ममा उनी आमाको भूमिकामा देखिन लागेको हुन्। उनी भारत फर्कनु केही दिनअघि निर्माण पक्षसँग फिल्मका लागि सम्झौता गरेकी थिइन्।
जेठ ८, २०८२ बिहीबार १८:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।