दुई नेपाली नागरिकको आतंकवाद कनेक्सन : हिजो समसुल होदा, आज अन्सारूल मिया

काठमाडौं : पाकिस्तानी खुफिया एजेन्सी आइएसआइका लागि नेपालबाट दिल्ली गएर अर्ध सैन्य बल सम्बन्धी संवेदनशील सूचनाहरू सङ्कलन गरेको आरोपमा भारतको दिल्लीमा पक्राउ परेका अन्सारूल मिया अन्सारी नेपाली नागरिक भएको स्रोतले उकेरासँग पुष्टि गरेको छ। तर उनीबारे भारतको इन्भेस्टिगेसन ब्युरो (आइबी) ले अनुसन्धान गरिरहेकाले विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
उनी नेपाली नागरिक भएको पुष्टि गरे पनि उनको नेपालको विस्तृत विवरण भने खुलिसकेको छैन। उनीसँगै भारत राँचीका अख्लाक आजम समेत पक्राउ परेका छन्। अन्सारीले दिल्लीको सुरक्षा सम्बन्धी संवेदनशील सूचनाहरू सङ्कलन गरेर नेपाल फर्किने तयारीमा रहेको बेलामा मध्य दिल्लीको एक होटेलमा पक्राउ परेका हुन्।
अन्सारी नेपालबाट सन् २००८ मा ट्याक्सी चालकको रूपमा कामका गर्न वैदेशिक रोजगारीका लागि कतार गएको र सन् २०२४ सम्मै त्यही थिए। कतारमै उनको भेट पाकिस्तानी खुफिया एजेन्सीका ह्यान्डलरसँग भेट भएको थियो।
उनले अन्सारीको ब्रेनवास गरेर भारतविरुद्ध काम गर्न सहमत गराएपछि २०२५ को जनवरीमा उनी नेपाल आएका थिए। नेपाल आएका उनी चार महिनासम्म नेपालमै बसे। उनी जुनमा पाकिस्तान गएर एक महिना बसेर नेपाल फर्किएका थिए।
पाकिस्तानमा उनलाई एक महिनासम्म आइएसआइका अधिकारीहरूले दिल्लीको भौगोलिकस्थीती र लोकेसनसहित कसरी काम गर्ने भनेर प्रशिक्षण दिएका थिए। उनी पाकिस्तानमा एक महिना बसेर नेपाल फर्किए।
नेपाल आएपछि आइएसआइले भारतमा रहेको आफ्नो सहयोगीसँग उनको परिचय गराएपछि उनी भारतको दिल्ली गएर अर्ध सुरक्षा बल लगायतका सुरक्षा संगठन र संवेदनशील स्थानहरूको महत्त्वपूर्ण जानकारी र दस्ताबेजहरू सङ्कलन गरेर नेपाल फर्किने तयारीको क्रममा पक्राउ परेको बताइएको छ।
उनी पक्राउ परे लगत्तै आजमसमेत पक्राउ परे। उनीहरू दुबैमाथि दिल्ली प्रहरीले सुरक्षा सम्बन्धी कानुनको अभियोगमा अदालतमा पेस गरेर अहिले तिहाडको कारागारमा राखेको छ।
समसुल होदा जो जोडिए आतंकवादसँग
पाकिस्तानी खुफिया एजेन्सी अनि अन्डर्वर्ड डनका रूपमा परिचित दाउद इब्राहिमका लागि काम गरेको आरोप नेपालीमाथि पटक-पटक लाग्ने गरेको छ। त्यही आरोपमा मिर्जा दिलसाद बेगदेखि जमिम साहसम्म मारिए पनि प्रमाणित हुने तथ्यहरू भने कमै सार्वजनिक भए। तर अन्सारीको घटना यी भन्दा फरक देखिएका छन्। उनी भारतको दिल्लीमै पक्राउ परेका छन्।
यस अगाडि कैलालीका समसुल होदा घटना पनि अलि गम्भीर नै रहेको खुलेको थियो। होदा भारतको रेल्वे ट्रयाकमा भएको आतंकवादी आक्रमणको योजनाकार देखिएका थिए। नेपालका उनी दुबईमा कामका लागि गएका थिए। २०७३ माघमा भारतीय नागरिक र नेपाली नागरिकहरू मिलाएर उनले बिहार र उत्तर प्रदेशको रेल्वे ट्रयाकमा बम विस्फोटको योजना बनाएको खुलेको थियो।
संविधान सभाको दोस्रो निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट प्रत्यक्षतर्फको उम्मेदवारसमेत बनेका थिए। उनले १ हजार ४ सय ३२ मत पाएका थिए। म्यानपावर कम्पनी चलाएर बसेका उनी निर्वाचनमा पराजित भएपछि दुबई गएको खुलेको थियो।
बारा, जङ्गलमा २०७३ पुस १३ मा दुई युवकको शव फेला परेको थियो। अनुसन्धानमा उनीहरू भारतीय नागरिक दीपक राम र अरुण राम रहेको खुल्यो। उनीहरूको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पुस १४ मा उमेशकुमार कुमार कुर्मी,कलैया बरेवाका मोजाहिर अन्सारीलाई पक्राउ गरेको थियो।
यो घटनामा सिमराका बृजकिशोर गिरीको संलग्नता खुलेपछि प्रहरीको विशेष ब्युरोसहित उनलाई पक्राउ गर्न जाँदा उनी पर्साको विजवनिया गाविसको गढैया टोलमा रहेको ससुरालीमा लुकेर बसेको खुल्यो। उनलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै आक्रमण भएपछि ६ राउन्ड गोली चलाएर उनलाई घुँडामा गोली हानेर पक्राउ गरेको थियो।
भारतमा बिहार प्रहरीले मोती पासवान, उमाशंकर पटेल र मुकेश यादवलाई पक्राउ गरेपछि भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा विस्फोट गराउन प्रेसरकुकर बम राखिएको तर राम्रोसँग तार नजोडिँदा नपड्किएको खुलेको थियो।
यो योजनामा गिरीबाबा उपनामले कुख्यात नेपाली नागरिक बृजकिशोर जोडिएका थिए। उनीहरूले गिरीले ३ लाख भारतीय रुपैंया दिएको खुलेपछि नेपाल-भारत दुबैतिरका सुरक्षा अधिकारीले संयुक्त अनुसन्धान अगाडि बढाएका थिए।
अनुसन्धानमा विस्फोटको योजना बनाए पनि सफल नभएपछि पोल खुल्ने डरले योजनामा संलग्नहरूलाई नेपालमा बोलाएर हत्या गरेको खुलेको थियो। गिरीबाट विस्फोटका लागी होदाले पैसा दिएको खुलेपछि उनको खोजी सुरु भएको थियो।
नेपाल प्रहरीले इन्टरपोलमार्फत उनलाई दुबईबाट नेपाल ल्याउन सफल भयो। उनलाई माघ अन्त्यमा नेपाल ल्याइएको थियो।
जेठ ८, २०८२ बिहीबार १७:५३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।