‘गणतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै पूर्वराजा समर्थकले विरोध गर्नु अर्थहिन छ’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गणतन्त्रविरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले गणतन्त्रविरुद्ध गरिने कुनै पनि गतिविधि जनताको विरुद्धको काम हुने भन्दै सरकारले स्वीकार नगर्ने बताए।
उनले पूर्वराजा समर्थकले गणतन्त्रविरोधी नारासहित प्रदर्शन गर्नुलाई अर्थहीन भन्दै यस्तो कार्यले लोकतन्त्रको मर्यादामाथि प्रश्न उठाउने बताए।
मन्त्री गुरुङले राज्यव्यवस्था विरुद्धको हिंसात्मक वा उग्र गतिविधिलाई नियन्त्रण गर्न सरकार पछि नपर्ने चेतावनीसमेत दिए। ‘यदि हिंसात्मक गतिविधि भएमा जनताको सुरक्षाका लागि सरकारले आवश्यक कदम चाल्न कुनै हिच्किचाहट राख्दैन,’ उनले भने।
उनले सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१’ को सुझाव कार्यान्वयन गर्न ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। साथै जेठ १०–११ गते अष्ट्रियाको भियनामा हुने ‘ग्लोबल फोरम फर ह्युमन ट्राफिकिङ सरभाइभर–भ्वाइस अफ रेजिलियन्स’ मा नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागी गराउने निर्णय भएको बताए।
यसैगरि सरकारले जेठ ११–१९ मा चीनमा आयोजना हुने ‘फोर्थ डाइलग अन एक्सचेन्ज एण्ड म्युचुअल लर्निङ अमोङ सिभिलाइजेसन्स’ मा उद्योगमन्त्री दामोदर भण्डारीलाई पठाउने स्वीकृति गरेको छ। महाकाली नदीमा जम्मा भएको नदीजन्य पदार्थ हटाउने र बाढीजन्य विपद् न्यूनीकरण गर्न अस्थायी नदी नियन्त्रण कार्य नेपाली सेनामार्फत गराउने निर्णय भएको गुरूङले जानकारी दिए। साथै सरकारले नेपाली सेनामा स्वास्थ्य समूह अन्तर्गतका एक जना महासेनानीको कार्यकाल थप गर्ने निर्णय गरेको बताए।
मन्त्रिपरिषद्ले ताजिकिस्तानमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन ग्लासियर्स प्रिजरभेसन’ मा वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई सहभागी गराउने निर्णय समेत गरेको छ। सहरी विकास मन्त्रालयको सिफारिसमा बागमती सभ्यता एकीकृत विकास समिति सम्बन्धी आदेश, २०६२ को पाँचौँ संशोधन पारित गर्ने निर्णय गरेको छ।
सुर्खेत उपत्यकाको नगर विकास समितिको १२,६५८.६० वर्गमिटर जग्गा कर्णाली प्रदेश सरकारलाई प्रशासनिक भवन निर्माण प्रयोजनका लागि हस्तान्तरण गर्ने निर्णय समेत भएको मन्त्री गुरूङले जानकारी दिए।
जेठ ८, २०८२ बिहीबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।