सोविताले जेनेभामा भनिन्- दातृ निकायले विदेशी सहायता कटौती गरे नेपाल जस्ता देशमा गम्भीर असर पर्छ

काठमाडौं : प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन विश्वव्यापी आह्वान गरेकी छन्। बुधबार जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को संसदीय संवाद कार्यक्रममा बोल्दै उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन्।
अन्तर-संसदीय सङ्घ आईपियूको स्वास्थ्य समितिकी सदस्य समेत रहेकी गौतमले विश्वभरका सांसदहरूलाई सहकार्य र समन्वयमा अघि बढ्न आग्रह गरिन्। ‘दृढतापूर्वक कानुन बनाऔँ, निर्भय भएर लगानी गरौं, अनि स्वास्थ्यलाई शान्ति र न्यायको आधार बनाऔँ,’ उनले भनिन्, ‘सांसद अब केवल परिवेक्षक होइनन्, हामी उत्तरदायित्त्व वहन गर्ने, समताको पक्षमा उभिने र दीर्घकालीन परिवर्तनका नेतृत्वकर्ता हौं।’
कार्यक्रममा उनले हालै पारित गरिएको डब्लुएचओको महामारी सम्झौतामा सांसदहरूको भूमिका निर्णायक रहेको उल्लेख गरिन्। ‘यो सम्झौताले अबको महामारी व्यवस्थापनका लागि नयाँ ढोका खोलेको छ। जैविक सामग्री तथा जानकारीको द्रुत र व्यवस्थित आदानप्रदान, न्यायोचित पहुँच र लाभ साझेदारीका लागि हामी संवाद गर्न तयार हुनुपर्छ,’ उनले भनिन्।
गौतमले महामारी सम्झौतालाई सबै देशका संसद्बाट अनुमोदन गरिनु आवश्यक रहेको औंल्याउँदै, अहिले विदेशी सहायता कटौतीको संकेतले निम्न आय भएका मुलुकहरू, विशेषतः नेपाल जस्ता देशहरूमा गम्भीर असर पार्ने बताइन्। ‘भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन। जबसम्म सबै राष्ट्र सुरक्षित हुँदैनन्, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित रहँदैन,’ उनले भनिन्।
उनले संसद् कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अङ्ग भएकाले संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता सफल हुन नसक्ने धारणा व्यक्त गरिन्। साथै, यस्ता अन्तर्राष्ट्रिय संवादहरूले संसद्लाई स्वास्थ्य नीतिमा औपचारिक भूमिका दिन थालेको महसुस भएको बताइन्।
जेठ ८, २०८२ बिहीबार १६:२४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।