रनवेमा खाल्डो परेपछि...

रनवेमा खाल्डो परेपछि...

सुर्खेत : रनवेमा अर्को खाल्डो देखिएपछि सुर्खेत विमानस्थल थप दुई दिनका लागि बन्द हुने भएको छ। बिहिबार देखि उडान गर्नेगरी मंगलबारदेखि मर्मत सुरू गरिएको विमानस्थलमा समस्या समाधान हुँदै गर्दा अर्को स्थानमा जमिनमुनिबाट पानी निस्किन थालेपछि थप समस्या निम्तिएको हो।  

विमानस्थल प्रमुख हिराजन काफ्लेका अनुसार पहिले मर्मत गरिएको ठाउँको नजिकै करिब १० मिटरको दूरीमा पुनः पानी निस्किएपछि रनवेमा अर्को खाल्डो देखिएको हो। ‘पहिलेको खाल्डो मर्मत सकियो, तर त्यसको केही पर जमिनमुनीबाट पानी निस्किएको देखियो। अहिले हामी दुई दिनभित्र काम सक्ने र विमानस्थल सञ्चालनमा ल्याउने प्रयासमा छौं,’ काफ्लेले भने। 

खाल्डो परेको क्षेत्र पहिले बस्ती हटाएर विस्तार गरिएको भाग हो। नेवार स्कुलतर्फको उत्तरी भागमा यो समस्या देखिएको हो।

विमानस्थल प्रशासनका अनुसार शनिबारदेखि पुनः नियमित उडान र अवतरण सुरू गर्ने लक्ष्यसहित निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको छ।

हाल सुर्खेत विमानस्थलबाट बुद्ध एयर र श्री एयरलायन्सले दैनिक चार उडान भर्दै आएका छन्।

जेठ ८, २०८२ बिहीबार १५:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।