सांसद मोदी ‘भाइरल’ हुन युट्युबर बोकेर लेखा समितिमा जाने गरेको आरोप

काठमाडौं : बिहिबारको सार्वजनिक लेखा समितिको बैठक पनि विवादरहित रहन सकेन। सिंहदरबारमा बसेको समितिको बैठकमा सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीच भनाभन भयो।
मोदीले प्रतिपक्ष दललाई बोल्न नदिइएको आरोप लगाउँदै समितिमा सत्तापक्षको मनोमानी भइरहेको बताए। ‘हामी पनि सांसद हौं, सार्वभौम हौं। तर, यहाँ बोल्नसमेत दिइँदैन,’ उनले भने, ‘हामी तपाईंहरूको दास हो र ? समितिमा प्रतिपक्षको पनि हक हुनुपर्छ ।’
उनको आरोपप्रति सभापति पोखरेलले आपत्ति जनाए। पोखरेलले मोदीमाथि युट्युबर बोलाएर भाइरल हुन मात्रै बैठकमा आउने गरेको आरोप लगाए। ‘आजसम्म तपाईंलाई बोल्न नदिएको छैन। गलत व्याख्या नगरौं,’ पोखरेलले भने, ‘तपाईं दुई–चार जना मान्छे लिएर आउनुहुन्छ, युट्युबरलाई बोलाउनुहुन्छ, सुटिङ गरेर भाइरल हुनुछ, त्यत्ति हो ।’
मोदीले भने समितिको काम उजुरी र बेरुजु फछ्र्योटमा मात्रै सीमित हुनु नहुने धारणा राखे। ‘किसानले मल पाएका छैनन्, बजारमा मूल्यवृद्धि भइरहेको छ, भ्रष्टाचारका कुरा आइरहेका छन्, तर यी विषय उठ्दैनन्,’ उनले भने, ‘यी पनि सार्वजनिक सरोकारका विषय हुन्, समितिमा उठ्नुपर्छ ।’
सभापति पोखरेलले बैठकलाई बारम्बार अमर्यादित बनाउने काम मोदीले गर्दै आएको आरोप लगाए । ‘तपाईंको उद्देश्य युट्युब र विज्ञापन मात्रै हो,’ पोखरेलले भने, ‘सार्वजनिक बैठकलाई सुटिङ थलो बनाउनु भयो। हरेक पटक यस्तै अभिव्यक्ति दिँदै बैठकलाई अस्तव्यस्त बनाइरहनु भएको छ ।’
यसअघि मंगलबारको बैठकमा पनि मोदी र पोखरेलबीच विवाद भएको थियो। मोदीले प्रधानमन्त्रीको पार्टीको सांसद सभापति हुन नहुने भन्दै आपत्ति जनाएका थिए। त्यसबेला पनि एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई, समाजवादी पार्टीका प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आपत्ति जनाउँदै आ-आफ्नो धारणा राखेका थिए।
बुधबार पनि रास्वपाका सांसद असिम शाह र कांग्रेस सांसद मञ्जु खाँणबीच भनाभन भएको थियो। सार्वजनिक लेखा समितिको बैठक कामभन्दा राजनीति र आरोप-प्रत्यारोपमै अल्झिएको देखिन्छ।
जेठ ८, २०८२ बिहीबार १४:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।