पोखरा प्याराग्लाइडिङ पुरानै लयमा : खपौदीमै अवतरण, उडान समय पनि बढ्यो

पोखरा प्याराग्लाइडिङ पुरानै लयमा : खपौदीमै अवतरण, उडान समय पनि बढ्यो

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका कारण प्रभावित बनेको पोखराको प्याराग्लाइडिङ व्यवसाय पुरानै अवतरण स्थलमा फर्किएको छ भने उडान समय पनि थपिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) को पहलमा यो निर्णय भएको हो।

यसअघि विमानस्थल सञ्चालनपछि सुरक्षाका कारण देखाउँदै प्याराग्लाइडिङको अवतरण स्थल खपौदीबाट पामे सारिएको थियो। यसले व्यवसायमा नकारात्मक असर परेको थियो।

नाका अध्यक्ष अनिल केसीका अनुसार, अब सराङकोट/तोरीपानीबाट उडान (टेक अफ) गरेर फेवाताल किनारको पुरानै स्थल खपौदीमा अवतरण गर्न पाइनेछ। योसँगै उडान सञ्चालन समय बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म पुर्याइएको छ।

यसअघि व्यवसाय धान्न मुस्किल भएको र करिब १५० प्यारापाइलट विस्थापित हुनुपरेको अवस्थामा यो निर्णयले आशा जगाएको उनले बताए। समय थपिएपछि उडान सङ्ख्या बढ्ने र पर्यटकको अनुभव थप रोमाञ्चक हुने अपेक्षा छ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्ष-२०२५ को तयारीका क्रममा भएको यो निर्णयले पोखराको साहसिक पर्यटनमा टेवा पुग्ने र पर्यटकको मन जित्ने विश्वास व्यक्त गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले सुरक्षालाई प्राथमिकता दिँदै पुराना स्थलमा अवतरण अनुमति दिइएको जानकारी दिए। नाका महासचिव बलराम आचार्यले सुरक्षालाई थप सुदृढ बनाउन पाइलटहरूका लागि हालै प्राविधिक तालिम सञ्चालन गरिएको बताए।

नाले जिपिएस र आधुनिक प्रविधिको प्रयोगले उडान सुरक्षित र व्यवस्थित बनाएको जनाएको छ। नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले यो पहलले पोखराको प्याराग्लाइडिङले नयाँ उचाइ लिने र पोखरालाई साहसिक पर्यटकको गन्तव्य बनाउने विश्वास व्यक्त गरे।

प्याराग्लाइडिङ व्यवसायमा करिब एक अर्ब लगानी र ५९ कम्पनी छन्। चार सय ‘टेन्डम’ पाइलटमध्ये हाल २५० जना सक्रिय छन्। स्थानान्तरणले गर्दा उडान सङ्ख्या घटेर व्यवसायी मर्कामा थिए।

जेठ ८, २०८२ बिहीबार १३:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।