अमेरिकाले स्वीकार्यो कतारले दिएको ४०० मिलियन डलरको उपहार विमान

काठमाडौं : अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ।
अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको हो।
यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ।
यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरे पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो।
कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ।
जेठ ८, २०८२ बिहीबार १२:२७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।