पाकिस्तानी एजेन्टको आरोपमा दिल्लीमा एक ‘नेपाली नागरिक’ पक्राउ

पाकिस्तानी एजेन्टको आरोपमा दिल्लीमा एक ‘नेपाली नागरिक’ पक्राउ

काठमाडौं : पाकिस्तानी गुप्तचर संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई)को योजनामा भारतको सैन्य रणनीति र स्थलबारे महत्वपूर्ण जानकारी संकलन गरेको आरोपमा दिल्लीबाट अन्सारूल मिया अन्सारी पक्राउ परेका छन्।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार नेपाल हुँदै भारत गएका उनको साथबाट महत्वपूर्ण सैन्य जानकारी सम्बन्धी दस्तावेज समेत बरामद गरिएको छ। द इकोनोमिस्ट टाइम्सले अन्सारी नेपाली नागरिक भएको दाबी गरेको छ। तर, विस्तृत विवरण उल्लेख गरेको छैन।

भारतीय मिडियाले भारतीय खुफिया एजेन्सीले पाकिस्तानी गुप्तचर एजेन्सीको गोप्य रणनीति असफल बनाएको दाबी सहित समाचार प्रकाशित गरेको छ। दिल्लीमा अन्सारीसहित उनलाई सघाउने अर्का एक भारतीय नागरिक समेत पक्राउ परेको समाचारमा उल्लेख छ।

भारतीय गुप्तचर एजेन्सीले जनवरीमा यो अपरेसन शुरू गरेको र सम्भावित आतंकवादी हमलाका लागि वर्गीकृत सैन्य डेटा सङ्कलन गर्ने षड्यन्त्रको पर्दाफास गरेको दाबी आइरहेका छन्।

तीन महिनाको लामो गोप्य अपरेसनपछि दिल्लीमा काम गरिरहेको एक पाकिस्तानी एजेन्ट सहित दुई व्यक्तिको गिरफ्तारी भएको उनीहरूको दाबी छ। द टाइम्स अफ इन्डियाले यो पक्राउले दिल्लीमा आतंकवादी हमला गर्ने आइएसआईको योजना विफल भएको समेत जिकिर गरेको छ।

आइएसआई समर्थित एक एजेन्ट वर्गीकृत सैन्य डेटा, कागजात, तस्विरहरू र जिपीएस विवरण सङ्कलन गर्न आएको सूचनाको आधारमा अपरेसन थालिएको देखिन्छ। अन्सारुल मिया अन्सारी फेब्रुअरी १५ मा मध्य दिल्लीमा पक्राउ गरिएको समाचारमा उल्लेख छ।

उनी संवेदनशील सामग्रीहरू लिएर नेपाल हुँदै पाकिस्तान फर्कने प्रयास गरिरहेको बेलामा पक्राउ परेको भनिएको छ। नेपालका अन्सारी २००८ देखि कतारमा ट्याक्सी चालकको रूपमा काम गरिरहेको र जुन २०२४ मा पाकिस्तानको रावलपिन्डी गएर तालिम लिएको दाबी गरिएको छ।

पक्राउपछि अन्सारीलाई दिल्ली प्रहरीलाई हस्तान्तरण गरिएको थियो। अन्सारीलाई सहयोग गरेको आरोपमा राँचीका अख्लाक आजमलाई पनि गिरफ्तार गरिएको छ।

जेठ ८, २०८२ बिहीबार ११:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।