अमेरिकाको वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारी हत्या

अमेरिकाको वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारी हत्या

एजेन्सी : अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छिन्।

घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको सीबीएसन्यूजले जनाएको छ। क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि दुवैलाई गोली हानी हत्या गरिएको थियो।

स्थानीय समय अनुसार राति ९:०५ बजेतिर एफ स्ट्रिटमा गोलीबारी भएको थियो। एफबीआईसँगै धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवनहरू भएको स्थानमा आक्रमण भएको समाचारमा उल्लेख छ।

गोलीबारी भएको समयमा संग्रहालयको कार्यक्रममा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित रहेको बताइएको छ।

‘हामी सक्रिय रूपमा अनुसन्धान गरिरहेका छौँ र मुद्दाको विवरण उजागर गर्न काम गरिरहेका छौँ,’ नोएमले ट्विटरमा लेखेको छ, ‘पीडित परिवारहरूको लागि कृपया प्रार्थना गर्नुहोस्। हामी अपराधीलाई न्यायको कठघरामा ल्याउनेछौँ।’

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहूदी विरोधी आतंकवाद’ भनेर वर्णन गरेको छ।

जेठ ८, २०८२ बिहीबार ११:२४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।