पञ्चायतका ‘अराष्ट्रिय तत्व’ राममणि पोखरेलको हिजोका कुरा : ‘पोइल’ जान्छन् भन्ने मानसिकताले छोरी पढाउँदैनथे

पञ्चायतका ‘अराष्ट्रिय तत्व’ राममणि पोखरेलको हिजोका कुरा : ‘पोइल’ जान्छन् भन्ने मानसिकताले छोरी पढाउँदैनथे

वि.सं. २००३ सालमा उदयपुरको रुपाटारमा जन्मिएका राजनीतिज्ञ हुन् राममणि पोखरेल। गाउँमा स्कुल नबन्दै बुबाको इसारामा कखरा सिकेका पोखरेलको गाउँमा भने २०१७ सालमा मात्र स्कुल खुल्यो। सोही स्कुलबाट आधुनिक शिक्षाको पढाइ थालेका उनले ८ कक्षा सकेपछि शिक्षकका लागि तालिम लिए। धरानबाट तालिम पास गरेपछि उनी करिब छ महिना सरकारी शिक्षकका रूपमा जागिरे भए।

पञ्चायतविरोधी शक्ति र कम्युनिष्ट धारका नेता मनमोहन अधिकारीसँग भेटेपछि उनी वामपन्थी राजनीतिमा होमिए। यही कारणले तत्कालीन सिडियोले उनलाई ‘अराष्ट्रिय तत्व’ भन्दै जागिरबाट निकालिदियो। त्यसयता आठ पटक कारागार बसेका उनी एमाले हुँदै अहिले एकीकृत समाजवादीको उदयपुर जिल्ला अध्यक्ष र पार्टीका केन्द्रीय कमिटी सदस्य छन्।

उनै पोखरेलले आफ्नो जागिरे र राजनीतिक अनुभवसँगै पुराना दिन उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी स्मरण गरेका छन्:

स्कुल नहुँदा चण्डी रुद्री, अमरकोषकै भर
मेरो जन्मथलो उदयपुरको रुपाटारमा वि.सं. २००३ सालमा भएको हो। म जन्मिँदा देशमा राणा शासन थियो। त्यो समयमा स्कुल थिएन। बुवाकै सल्लाहमा करिब १०/११ वर्षको उमेरमा घरमै कखरा पढियो। हाम्रो गाउँमा १७ सालमा बल्ल स्कुल स्थापना भयो, महेन्द्र रत्न निमावि। हामी त्यतिबेला ५-६ कक्षामा पढ्न थाल्यौँ। गाउँमा स्कुल खुलेपछि चण्डी रुद्री, अमरकोष पढाउन थालियो।

आफ्नो नाम लेख्न सिकाउने, संस्कृत पढेका गुरूहरू आउने गर्थे। त्यो समयमा आधुनिक शिक्षाको खासै चलन थिएन। १८ सालमा हाम्रै पुर्खा बालकृष्ण पोखरेल भन्ने एक जना हुनुहुन्थ्यो, उहाँले हामी सय जना विद्यार्थीको व्यक्तिगत परीक्षा लिनुभयो। कसैसँग लिखित, कसैसँग मौखिक लिएर को कतिको जान्ने छ, त्यसअनुसार कक्षा विभाजन गरिदिनुभयो। उहाँले रुद्री, चण्डी पढिरहेका हामी विद्यार्थीलाई आधुनिक शिक्षातर्फ डोहोर्याउनुभयो।

हाम्रो समयमा छोरी मान्छेहरू पनि पढ्थे, तर छोराको तुलनामा निकै थोरै। छोरीलाई स्कुलमा पढाउनु हुँदैन भनेर सरकारबाट रोकतोक थिएन, तर घरैका लागि पढाउन चाहँदैनथे। पढायो भने छोरीहरू छिट्टै ‘पोइल’ जान्छन् भन्ने मानसिकता थियो। मैले २२ सालमा ८ कक्षा पास गरेपछि घरमै बसेँ। पछि २४ सालमा शिक्षक बन्नका लागि तालिममा सहभागी हुन धरान पुगेँ। यो अमेरिकी सहायतामा हुन्थ्यो र यसका पाँचवटा सेन्टर थिए। अहिलेको सोलु बाहेक कोशी प्रदेशका सबै जिल्लाका मानिसहरू तालिमका लागि त्यहाँ जान्थे।

शिक्षकको जागिर खाने सुरमा म धरान गएको थिएँ। त्यो समयमा एक वर्षमा १६५ जनाको तालिम हुन्थ्यो- १२० जना एक वर्षे, ४५ जना दुई वर्षे। म तालिममा पास भएँ। धरान गएको समयमा हामी सात-आठ जना साथीहरू मिलेर मनमोहन अधिकारीलाई भेट्न र वीपी कोइरालाको आमसभा हेर्न गइयो। यो २०२४/२५ सालतिरको कुरा हो। यसपछि ममा राजनीतिक चेतना पलाएको हो।

हामी १९ जना जति मनमोहन अधिकारी र वीपीको आमसभा हेरेपछि मेरो झुकाव राजनीतितर्फ मोडियो। शिक्षकको तालिममा धरान पुगेको बेला मनमोहनसँग पनि भेट भएको थियो। त्यसपछि गाउँकै स्कुलमा पढाउन आएँ। आउजाउ गर्दा मैले कम्युनिष्टको प्रचार बाँडे, दुई-चार ठाउँ। यो बाँडेको प्रशासनले थाहा पाएपछि २०२६ सालको माघ महिनामा उदयपुर गढीकै थानामा लगेर थुन्यो।

तिरो तिर्नुपर्थ्यो ३३ पैसा, मागिन्थ्यो एक रुपैयाँभन्दा बढी
मैले थाहा पाउँदा हाम्रो गाउँमा पानीको निकै दुःख थियो। उब्जाउमा पनि मकै बाली मात्रै हुन्थ्यो। धानखेत थोरै मात्रामा देखिन्थ्यो। तीन बाली लगाउने चलन थियो। त्यो समयमा बेठी बिगारी तिर्नुपर्थ्यो। २००७ सालपछि, त्यो बेठी बिगारीको चलन कम हुँदै गएको रहेछ।

त्यतिबेला नुन बोक्नका लागि हाम्रा बुबाहरू मुक्सार (तराईतिरको बजार) जानुहुन्थ्यो। नुन लिनकै लागि उहाँहरूलाई तीन दिन आउन र तीन दिन जान लाग्थ्यो। सवारी साधन थिएन, त्यसैले हिँडेरै पार गर्नुपर्ने हुन्थ्यो।

अर्को कुरा, त्यो समयमा जग्गाको तिरो तिर्नुपर्थ्यो- ३३ पैसा। तर जिम्दारले एक रुपैयाँभन्दा बढी माग्थे। जिम्दारले ‘मेरो बेठी बिगारी तिर्न आइज’ भन्थे र तिराउँथे। सर्वे नापी हुनुभन्दा अगाडि बेठी बिगारी तिर्नुपर्थ्यो। स्थानीय स्तरमा मानिसहरूलाई भूमि सुधार लागू हुनुअघि दुई खालको व्यवस्था थियो- एउटा १२ नम्बर फारम अर्को २ नम्बर फारम।

जब २०२१ सालमा भूमि सुधार लागू भयो, त्यसपछि सर्वसाधारणको जीवन अलि सहज भयो। यो लागेपछि तीन बाली लगाउने प्रथा पनि हट्यो। यसपछि धनीमनीहरूले जग्गाप्रति पहिलाजत्ति मोह देखाएनन्। उद्योग धन्दा खोल्ने, बाहिर अरु व्यापार व्यवसायतर्फ लागे। किनभने आम्दानी नआउने भएपछि उनीहरू आम्दानीको स्रोत खोज्न थाले।

यारी खोला बेसीमा धान बाली
त्यतिबेला यारी खोला बेसीमा पहिले दुई बाली धान लगाउँदैनथेँ। १६ सालतिरको कुरा हो, हाम्रो गाउँमा ज्ञानबहादुर कार्की त्रिभुवन ग्राम सेवक भएर पुगेका थिए। त्यो समयमा राजाको नाम जोडिएको थियो। उनले नयाँ धानको बीउ लिएर गए। उनले ‘पुरानो धानको उत्पादन भएन, नयाँ धान लगाउनुपर्छ’ भने।

‘यो धान फल्ने र ऊ धान फल्ने भन्ने कुरा काजीले भनेर हुन्छ?’ भन्ने एकथरी थिए भने अर्काथरी चाहिँ कार्कीको कुरामा सहमत हुँदै ‘पानी छ, लगाउँ, मेहनत गरौँ’ भन्थे। एक वर्ष लगाएपछि थाहा हुन्छ भनेर त्यो धान बाली लगाइयो। फल्यो पनि। त्यसपछि गाउँलेको जीवन अलिक सहज भयो।

त्यतिबेला खाँडीको लुगाहरू नै लगाइन्थ्यो। रेली र कतुवामा बनेका खाँडी हुन्थे। रेली अलि मोटो खाल्को हुन्थ्यो, कतुवा पातलो। मैले आधुनिक लुगा १४ सालपछि मात्र लगाएको हो। त्योभन्दा अघि त खाँडीकै लुगाहरू लगाइयो। दश वर्षको उमेर भएपछि ठूला गोजी भएको सर्ट र हाफ पाइन्ट लगाएको थिएँ।

१५ सालमा देशमा चुनाव भयो। त्यसपछि भने अलिअलि भारतबाट सामानहरू गाउँमा भित्रिन थाले। महिलाहरूले खाँडीको छिटको साडीलाई कालो रोगन गरेको लगाउँथे, अलि मोटो खालको खाँडीको साडी हुन्थ्यो।

पञ्चहरूको बदमासी र दबाब
पञ्चायतकालमा ‘पञ्चहरूले काम गरेनन्’, ‘पञ्चहरूले मलाई थिचोमिचो गरे’ भन्न पाइँदैनथ्यो। विरोध गर्ने मान्छे देख्नासाथ खबर गरिहाल्थे। राई समुदायको बाहुल्यता भएको ठाउँमा राई, लिम्बूकोमा लिम्बू, यस्तै ठाउँ अनुसार पञ्चहरू हुन्थे। जनमत संग्रह गर्दा हाम्रो गाउँमा प्रधानपञ्च लालबहादुर गिरी थिए।

पञ्चायतका मातहतमा भएकाले अधिकांश पञ्चहरू निरंकुश नै थिए। लेख्ने, बोल्ने र पढ्ने मानिसहरूलाई दबाब दिन्थे। प्रहरी थानामा उजुरी हालिदिन्थे। पढेलेखेका मान्छे छन् भन्ने कुरा थाहा पाएपछि प्रहरी पनि गोप्य तरिकाले आउने, बुझ्ने गर्थ्यो। शंका लागेमा पक्राउ गरिहाल्थ्यो।

२०२६ सालदेखि प्रहरी थाना आउने-जाने क्रम चलिरह्यो। २०२६ सालमा एक रात थानामा बसियो। त्यसपछि २०३१ सालमा दुई रात, २०३२ र २०३८ सालमा पनि बसियो। पटक-पटक गरेर आठ चोटी जेलको अनुभव गरेको छु। पञ्चायतकालमा मलाई ‘अराष्ट्रिय तत्व’ र ‘पञ्चायत विरोधी’ भनेर थुनियो।

म रुपाटार माध्यमिक विद्यालयमा पढाउँदै थिएँ। सिडियोले गाउँमा पञ्चायत विरोधी कुराकानी गर्ने को-को छन् भनेर बुझ्थ्यो। जसको नाम लिस्टमा हुन्थ्यो, उसैलाई कार्यालयमा बोलाएर हप्काउँथ्यो।

‘मेरो कुरा मान्नु, मानिनस् भने तेरो नोकरी खुस्किन्छ’ भन्थ्यो। गाउँमा कसले के गर्छ, त्यसको रिपोर्ट मलाई दिनु भन्थ्यो। मैले ‘सूचना दिन सक्दिनँ, पढाउने काम मेरो हो, त्यही गर्छु’ भन्दा ‘अराष्ट्रिय तत्व रहेछस्’ भन्थ्यो।

म शिक्षक भइरहेकै बेला ३२ साल मंसिर १६ गते हामी नौ जना स्थायी शिक्षकलाई हटाइदियो। ‘वीपीवादी होस् कि टाउको काट्ने झापाली (वामपन्थी)?’ भनेर सोध्थ्यो। ‘होइन, हामी कोहीतिरका होइनौँ, हामी मास्टर हौँ, पढाउँछौँ, तालिम गरिएको छ’ भन्दा ‘होइन, तँ एकतिर लागेको छस्’ भन्थ्यो। ‘गाउँ फर्क अभियानमा लाग्, यताको कुरा सुन’ भन्थ्यो।

‘राजाको विरोधमा अलिकति बोलिस् भने तेरो भलो हुनेछैन’ भन्थे। महिना-महिना दिनमा स्कुलको काम छाडेर सिडियो कार्यालय आएर रिपोर्टिङ गर्नुपर्थ्यो। नयाँ मान्छे कोही गाउँमा जानु हुँदैनथ्यो, सोधखोज अनुसन्धान गर्थे। त्यो समयमा मनमोहन समूह, पुष्पलाल समूह भन्थे।

०००

म थुनिएको बेला गाउँकै खिलराज निरौला भन्ने जिल्ला प्रशासनका सचिव थिए। उनले ‘ए, मोहियानी उठाएर खाएको हो, त्यस्तो केही होइन’ भनेर छुटाइदिए। यसरी मेरो राजनीतिक आन्दोलनको सुरुवात भयो। पछि म भरतमोहन अधिकारीको अलि नजिक भएँ। उनी मन्त्री हुँदा उनकोमा जाने आउने गर्थे, राजनीतिक विषयमा सरसल्लाह हुन्थ्यो। निकै सरल लाग्थ्यो, सबैलाई माया गर्थे।

म उदयपुर जिल्लाको अध्यक्ष हुनुपर्ने हो, तर पाँचौँ महाधिवेशनमा मैले सिनियरलाई सघाएँ। म उदयपुरको सचिव थिएँ, सचिव हुँदा सबै मानिसहरूलाई सहभागी गराउन सफल भएँ। त्यो बेला सिपी मैनाली अलिक बेग्लै किसिमको स्वभावका थिए। त्यत्रो कार्यक्रम गर्दा पनि उनले ‘कार्यकर्ता मेरो हो’ भन्ने स्वभाव राखेनन्। उनको मनमा ‘हरि’ भन्ने रहेनछ।

५१ सालको कुरा हो, पाँचौँ महाधिवेशनमा मैले सिपीलाई सघाएको हो। ५१ सालमा उनी मन्त्री भए। उनी मन्त्री भएपछि भेट्न जाँदा भेटै दिएनन्। मैले महाधिवेशनमा त्यत्रो सघाएको अर्थै भएन।

३६ सालपछि खुल्न थाले पार्टी
भूमिगत संगठनहरू प्रशस्तै थिए। खुला पार्टी कुनै पनि थिएन। ३६ सालको जनमतपछि भने ‘पुरानो कांग्रेस पार्टी’, ‘नयाँ फलानो पार्टी’ भन्न थालियो। त्यसपछि पत्रपत्रिकाले पनि लेख्न थाले। त्योभन्दा पहिला लेख्दै लेख्दैनथे, किनभने लेख्नै पाउँदैनथे। त्यतिबेला र अहिलेको तुलना गर्ने हो भने बोल्नका लागि स्वतन्त्रता छ।

बोल्न, लेख्न पाइन्छ, धेरै कुराहरूमा पहुँच बढेको छ। जति हुनुपर्ने हो त्यति भएका छैनन्। सडक र सञ्चार सबै ठाउँ पुगेका छन्, हिजोको तुलनामा। तर, पहिला कम भ्रष्टाचार हुन्थ्यो भने अहिले खुलेआम भएका छन्। नेताहरू भ्रष्टाचारमा चुर्लुम्मै डुबे, अछुतो बन्न सकेनन्।

अहिले पनि कृषिमा लगानी छैन। पहाडमा पानी बगिरहेको छ, भिरालो जमिन बाँझै छन्। श्रमशक्ति विदेश पलायन भयो र पैसा पनि उतै गयो। हरेक कुरामा पहिला र अहिलेको तुलना गर्ने हो भने आकाश जमिनको फरक छ। अझ मैले थाहा पाउँदाको कुरा गर्ने हो भने एमाले, माले जस्ता पार्टीको नाम नै थिएन। मनमोहन गुट, पुष्पलाल गुट, फलानो गुट भन्थे। पार्टीको नामनिशानै थिएन। पछि यसैका आधारमा पार्टीका नाम राखिएका थिए।

त्यतिबेला गाउँघरमा भाइचाराको सम्बन्ध
त्यतिबेला एकअर्कालाई अर्मपर्मका साथै समाज मिलेर बसेको थियो। अहिले त एकले अर्कालाई गन्न छाडे। तल्लो घर र माथिल्लो घरबीचको सम्बन्ध गतिलो छैन, एक-अर्काबीच द्वन्द्व चलिरहेको छ। त्यो समयमा यस्तो अवस्था सिर्जना हुँदैनथ्यो। हरेक काममा मानिसहरू सामूहिक हुन्थे।

बाटो खन्नुपर्यो भने सामूहिक रूपमा जान्थे। अहिले त को जान्छ र? पैसाको धाक लगाउँछन्। ‘ल है, सरकारले चामल दिने भयो रे, बाटो खन्न जाम’ भन्थे। यस्तो उर्दी जारी भइसकेपछि गाउँलेहरू बाटो खन्न जान्थे। अहिले त मान्छेको गोजीभरि पैसा छन्। कुन खानेकुरा कति हो, निर्धक्क पैसामा बार्गेनिङ गर्छन्। हिजो गाउँलेहरू ‘हाम्रो काम हो’ भन्थे, अहिले ‘सरकारले गरिदिनुपर्यो’ भन्छन्। धेरै कुरामा फरक आइसक्यो।

दलितहरू त्यो समयमा दबिएकै थिए। उनीहरू उठ्नै सक्दैनथे। पानी चल्ने जातले जसले जे जे भने पनि सहन्थे। एकाधले उजुरी गरे भने प्रहरीले समाउँथ्यो। नत्र उनीहरू उजुरी गर्नै जाँदैनथे। कतिपय उजुरी घर गाउँमै मिलाइन्थे, मिलेन भने प्रहरी चौकीमा छलफल हुन्थ्यो।

कतिपय उजुरी त प्रहरीले मेलमिलाप गराएर पठाउँथे भने कुनै कुनै उजुरी प्रहरी आफैँले वास्ता गर्दैनथ्यो। त्यो बेला दलितहरूको मनोबल नै उठेको थिएन भन्दा फरक पर्दैन। अहिले त सबैतिर चेतनाको विकास भयो, सबै जातजातिका मानिसहरू उठे।

हिजोको दिनमा के हुन्थ्यो भने, प्रधानपञ्च प्रायः जसको बाहुल्यता थियो, उनीहरू नै हुन्थे। क्षेत्री बाहुन भएको ठाउँमा उनीहरू नै, जनजाति बाहुल्य भएको ठाउँमा उनीहरू नै हुन्थे। ठाउँ हेरेर फरक-फरक नै भएको देखिन्थे, तर अलि बढी क्षेत्री बाहुन नै हुन्थे।

जेठ ८, २०८२ बिहीबार १०:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।