सूर्य नेपाल च्यालेन्ज: शुक्र राईलाई एकल अग्रता

सूर्य नेपाल च्यालेन्ज: शुक्र राईलाई एकल अग्रता

काठमाडौं : सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्जमा पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राईले दोस्रो दिन एकल अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा जारी प्रतियोगितामा शुक्र समग्रमा ६-अन्डर १ सय ३० स्कोरसहित शीर्षस्थानमा छन्। उनले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन्, जो समग्रमा ५-अन्डर १ सय ३१ सहित दोस्रो स्थानमा छन्।

भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्का समग्रमा ३-अन्डर १ सय ३३ स्कोरसहित संयुक्त तेस्रो स्थानमा छन्। शुक्रले दोस्रो दिन १-ओभर ६९ खेले भने दिनेशले १-अन्डर ६७ स्कोर गरे। भुवनले भने ४-ओभर ७२ खेल्दै लय गुमाए।

समग्रमा १-अन्डर १ सय ३५ स्कोरसहित सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामा संयुक्त पाँचौं स्थानमा छन्। साबिक विजेता रवि खड्का १-ओभर १ सय ३७ स्कोरसहित तोरण विक्रम शाही र वसन्तराज गुरूङसँगै संयुक्त आठौं स्थानमा छन्।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १ सय ३७ स्कोरसहित शीर्षस्थानमा छन् भने निश्चयजङ्ग रायमाझी २-ओभर १ सय ३८ सहित दोस्रोमा छन्।

३६ होलको समाप्तिमा ९-ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी कुल २५ खेलाडीले कट बनाएका छन्।

चार दिन (७२ होल) सम्म चल्ने यस प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ। प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ छ, जसमध्ये विजेताले १ लाख १० हजार रुपैयाँ पाउनेछन्।

जेठ ८, २०८२ बिहीबार ०८:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।