आईपीएल : प्लेअफ प्रवेश गर्ने चौथो टोली टुङ्गियो

आईपीएल : प्लेअफ प्रवेश गर्ने चौथो टोली टुङ्गियो

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ।

बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले प्लेअफमा स्थान पक्का गरेको हो।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १२१ रनमा अलआउट भएको थियो।

दिल्लीका लागि समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन बनाए। केएल राहुलले ११ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईको बलिङतर्फ माइकल सान्टनरले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। जसप्रित बुमराहले पनि ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट हात पारे।

मुम्बईस्थित वांखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो।

यो जितसँगै मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। यसअघि नै गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बेंगलोर र पन्जाब किङ्स प्लेअफमा प्रवेश गरिसकेका छन्।

मुम्बईले अब आफ्नो लिग चरणको अन्तिम खेल पन्जाबसँग खेल्नेछ।

जेठ ८, २०८२ बिहीबार ०७:५५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।