गेटा अस्पतालको अर्ब खरिद ‘लुट’मा अख्तियार र सतर्कताको छानबिन, तानिएलान् मन्त्री र सचिव?

गेटा अस्पतालको अर्ब खरिद ‘लुट’मा अख्तियार र सतर्कताको छानबिन, तानिएलान् मन्त्री र सचिव?

काठमाडौं : अधिकांश खरिद मिलेमतोमा भए पनि स्वास्थ्य मन्त्रालयको नेतृत्वले सधैँ बेवास्ता गर्दै आएको कैलालीको गेटा अस्पतालको खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेका छन्।

गेटा अस्पतालले गत आर्थिक वर्ष गरेको खरिद र यस वर्ष अगाडि बढाएको खरिद प्रक्रियाबारे अख्तियारको कञ्चनपुर कार्यालयले छानबिन सुरु गरेको हो। सतर्कताले भने यस वर्ष अगाडि बढेको खरिद प्रक्रियाबारे मात्र छानबिन सुरु गरेको छ।

उकेराको सोधखोजमा अख्तियारले गत वर्ष गेटामा भएको खरिदको अधिकांश कागजात कार्यालयमा ल्याएर छानबिन सुरु गरिसकेको खुल्यो। यो वर्षको खरिद प्रक्रियामा रहेका मेसिन, औजार तथा स्वास्थ्य सामग्रीको खरिदको कागजपत्र मागेको खुल्यो।

‘गत वर्षको अनुसन्धान धेरै नै अगाडि बढिसकेको छ। यस वर्षको भने कागजात मागेका छौँ,’ छानबिनबारे जानकार स्रोतले उकेरालाई भन्यो।

यता सतर्कताले भने यस वर्ष अगाडि बढेको करिब २५ करोडको खरिद प्रक्रियाबारे छानबिन गर्न केही दिन अगाडि कागजात मागेको खुल्यो। कागजात भने आइसकेको देखिएन।

दुवै वर्षको खरिद प्रक्रियाबारे उकेराले विस्तृत समाचार प्रकाशित गरेको थियो। अख्तियारले उकेरामा प्रकाशित समाचारलाई उजुरीको रूपमा लिएर अनुसन्धान सुरु गरेको खुल्यो।

‘पोहोर पनि उकेराको समाचारलाई उजुरीका रूपमा आयोगले ग्रहण गरेर छानबिन कार्य अगाडि बढेको थियो,’स्रोतले भन्यो,‘यो वर्ष पनि समाचार आएपछि छानबिन प्रक्रिया अगाडि बढाएका छौँ।’

लुटमा मन्त्री-सचिव सधैँ ‘रमिते’

गत वर्ष गेटा अस्पतालले करिब ६६ करोडको मेसिन, उपकरण तथा स्वास्थ्य सामग्रीको टेन्डर निकालेको थियो। अधिकांश टेन्डर निश्चित सप्लायर्स कम्पनीलाई फाइदा हुने गरी मिलेमतोमा गरिएको थियो।

अधिकांश खरिदमा खरिद मापदण्ड लक्ड गरिएको थियो। खरिद प्रक्रियामा के कस्तो बदमासी भइरहेको छ भनेर उकेराले निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरे पनि तत्कालीन स्वास्थ्य मन्त्रालयका नेतृत्वले वास्ता गरेनन्।

त्यो बेलामा मोहन बस्नेत, उपेन्द्र यादव र प्रदीप यादव स्वास्थ्य मन्त्री भएका थिए। गेटाको प्रमुखमा डा विप्लव सापकोटा थिए भने खरिदमा बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत खरिद मापदण्ड लक्ड गर्नेमा निर्णायक देखिएका थिए।

गेटा अस्पतालले २०८१ चैत ३१ यता करिब २५ करोड ७६ लाखको टेन्डर प्रक्रिया अगाडि बढाएको छ। उकेराले ती सबै टेन्डरको अध्ययन गर्दा गत वर्षको भन्दा पनि ठूलो बदमासी देखियो।

त्यसमा टेन्डरका सर्त र प्रक्रियामा बदनियत र प्रस्टै निश्चित सप्लायर्ससँग मिलेमतो देखिएपछि यसबारे उकेराले वैशाख ३१ मा सप्रमाण समाचार सम्प्रेषण गरेको थियो।

अहिले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्रदीप पौडेल र सचिवमा डा विकास देवकोटा छन्। पौडेल मन्त्री भएदेखि मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागदेखि संघीय अस्पतालहरूले अगाडि बढाएका अधिकांश खरिदमा मिलेमतो नै देखिन्छ।

डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा नै खरिद मापदण्ड नै लक्ड गरिएका टेन्डरहरू अगाडि बढाएका थिए। अहिले विभागका महानिर्देशक रहेका डा टंक बाराकोटीले ती बदनियतका साथ अगाडि बढेका टेन्डरहरू अनुमोदन गरिरहेका छन्। तर मन्त्री पौडेल मौन छन्।

गेटामा पहिला डा अशोक श्रीपाइली प्रमुख भएर गएका थिए। तर पुरानो खरिदको भुक्तानी र नयाँ खरिद प्रक्रिया मिलेमतोमा अगाडि बढाउन आएको दबाब झेल्न नसकेपछि उनी तीन महिनामै सरुवा मागेर हिँडे।

त्यसपछि मन्त्री पौडेलले डा प्रमोद यादवलाई गेटाको प्रमुख बनाएर पठाए लगत्तै उनले भटाभट खरिद प्रक्रिया अगाडि बढाए। उनले प्रक्रिया अगाडि बढाएका अधिकांश खरिदको मापदण्ड मिलेमतोमा चाहेको सप्लायर्सलाई खरिदको जिम्मा दिनेगरि लक्ड गरिएको देखिन्छ।

संघीयमध्ये नारायणी, भक्तपुर क्यान्सर अस्पताल, भेरी, गजेन्द्रनारायण सिंह अस्पतालले अगाडि बढाएका अधिकांश टेन्डरमा मिलेमतो देखिन्छ। नारायणीमा त लुटै देखिए पनि मन्त्रालयले वास्ता गरेको छैन।

अख्तियार र सतर्कता केन्द्रले गेटा अस्पतालबाट कागजात मागेकोबारे जिज्ञासा राख्दा गेटाका प्रमुख डा. यादवले त्यसको पुष्टि गरे। तर उनले अख्तियारले खरिद सम्बन्धी नभई मेडिकल कलेज किन सञ्चालन भएन भनेर स्वास्थ्य मन्त्रालय मार्फत दस दिन अघि गेटालाई पत्र पठाएको दाबी गरे।

सतर्कता केन्द्रले भने यो वर्षको खरिदबारे कागजात पठाइदिनु भनेर पत्र पठाएको र दुवै निकायलाई जवाफ पठाइसकेको उनले उकेरालाई बताए।

गेटामा करिब एक अर्बको लुट

गेटा अस्पतालमा गत वर्ष खरिद भएको र यो वर्ष प्रक्रियामा रहेको मेसिन, उपकरण तथा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा सिधै बदनियत देखिन्छ।

गत वर्ष गेटाले करिब ८० करोड पाए पनि ६६ करोडको मेसिन, उपकरण तथा स्वास्थ्य सामग्रीको टेन्डर स्वीकृत गरेको थियो। अधिकांश खरिद मिलेमतोमा चाहेकै निश्चित सप्लायर्स कम्पनीलाई नै पर्ने गरी अगाडि बढेको थियो। अन्तिममा भयो पनि त्यही।

गत वर्ष नै करिब ६६ करोडको टेन्डरमा बदनाम भएको कैलालीको गेटा अस्पतालले यो वर्ष निकालेको करिब २५ करोड ७६ लाखको टेन्डरको अवस्था त्यो बन्दा पनि दयनीय देखियो।

अस्पतालले अगाडि बढाएको टेन्डर प्रक्रियाका मापदण्ड लगायतका कागजातको अध्ययनमा कुन सप्लायर्सलाई टेन्डर दिनेगरि प्रक्रिया अगाडि बढाएको सो प्रस्ट खुल्छन्।

गत वर्षका प्रमुख डा. विप्लव अहिले पनि सोही अस्पतालमा रहे पनि उनी प्रमुख छैनन्। बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत पनि त्यहीँ छन्। तर यो पटक उनी खरिद प्रक्रियामा संलग्न देखिएनन्।

यो वर्षको खरिदमा डा.प्रमोद यादव छन् भने मिलेमतो अनुसार खरिद मापदण्ड बनाउन बायोमेडिकल इन्जिनियर अमृत भण्डारीलाई प्रसूतिबाट काजमा लगिएको छ।

डा. यादव गेटाको प्रमुख भए लगत्तै उनले गेटामा रहेका बायोमेडिकल इन्जिनियर चटौतलाई खरिद प्रक्रियाबाट अलग गरेर प्रसूति गृहका करारका बायोमेडिकल इन्जिनियर भण्डारीलाई काजमा लगे।

डा. यादव जाने बित्तिकै भण्डारी गेटा पुगेका थिए। तर, भण्डारी काजमा गेटा गएको पत्र भने चैत २६ को मितिमा बनाइएको थियो।

डा. यादवले जति पनि टेन्डर प्रक्रिया अगाडि बढाएका छन् ती सबै नै कुनै न कुनै सप्लायर्सको स्वार्थमा रहेको देखिन्छ। डा. यादवको टिमले कतै स्पेसिफिकेसनका विभिन्न मापदण्डमा खेलेर सेटिङ गरेका छन् त कतै अनावश्यक प्याकेज बनाएका छन्।

सम्बन्धित समाचार

जेठ ७, २०८२ बुधबार २२:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।