नेपाल टेलिकम र एनसेलको नाफा घट्दा फाइभजी प्रविधि अनिश्चित

नेपाल टेलिकम र एनसेलको नाफा घट्दा फाइभजी प्रविधि अनिश्चित

काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको (आव) तेस्रो त्रैमास प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले घटेको उल्लेख छ।

टेलिकमले गत आवको तेस्रो त्रैमासमा पाँच अर्ब ५३ करोड ७५ लाख खुद नाफा गरेको थियो। चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा दुई अर्ब ६९ करोड ५२ लाखले घटेर दुई अर्ब ८४ करोड २२ लाखमा सीमित भयो।

टेलिकमको चालु लगानी र नगद तथा नगदसरहको रकम हेर्ने हो भने पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म उक्त सम्पत्ति करिब ३४ अर्बमा झरेको छ। यसले टेलिकमको आर्थिक स्वास्थ्य र चालु सम्पत्तिको अवस्था घटेको देखिन्छ।

टेलिकमले खुद नाफामा आएको कमीको कारणमध्ये एउटा ओभर द टप (ओटिटी) प्लेटफर्म अर्थात् म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमेललगायतको बढ्दो प्रयोग उल्लेख गरेको छ।

ओटिटीको बढ्दो प्रयोगले टेलिकमको भ्वाइस र एसएमएसबाट हुने आम्दानी उल्लेख्य घटेको देखिन्छ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम)को अनुमति पत्र नवीकरणका लागि एकमुस्ट २० अर्ब भुक्तानी गर्नुपरेको र प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरूले मोबिलिटी गरी वाइफाई सेवा दिइरहेकाले मोबाइलको डेटा खपतमा उल्लेख्य कमी आउँदा त्यसको असर नाफामा परेको टेलिकमले जनाएको छ।

यी समस्याका कारण कम्पनीले सेवा विस्तार गर्न, नयाँ प्रविधिमा लगानी गर्न तथा समग्र सेवा सञ्चालन गर्न खर्च व्यवस्थापनका हिसाबले दीर्घकालीन रूपमा चुनौती थपिने देखिन्छ।  

“ओटीटी सेवाहरूको बढ्दो प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेकाले अन्तर आबद्धता आयमा गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब ५३ करोड ५५ लाख ६६ हजार अर्थात् २२ दशमलव ३७ प्रतिशतले कमी आएको छ। ओटिटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ”, नेपाल टेलिकमले उल्लेख गरेको छ।

नेपाल टेलिकमको मात्रै नभई पछिल्ला केही वर्षयता टेलिकम सेवा प्रदायक एनसेलको आम्दानीमा पनि उल्लेख्य कमी आएको दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा देखिन्छ।

सञ्चालनमा रहेका दुई वटा टेलिकम कम्पनीको आम्दानी आर्थिक वर्ष २०७४-७५ मा ९८ अर्ब ७१ करोड पुगेको थियो। दूरसञ्चार प्राधिकरणका अनुसार आव २०७९-८० मा आइपुग्दा टेलिकम सेवा प्रदायकको आम्दानी करिब २६ प्रतिशतले घटेर ७३ अर्ब १४ करोडमा सीमित भयो।

टेलिकम कम्पनीहरूको आम्दानी घट्नुको अर्को कारण अत्यधिक करसमेत भएको नेपाल टेलिकमका सह प्रवक्ता नवीनकुमार मिश्रले बताए।

“पुरानो नीति, ओटिटी प्लेटफर्म, वाइफाई हटस्पट र नवीकरण शुल्क बढी भएकाले असर परेको छ। विभिन्न शीर्षकमा लिइने राजस्वका कारण पनि टेलिकम कम्पनीहरूको आम्दानीमा असर परेको छ”, उनले भने।

टेलिकम कम्पनीहरूले १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक १० प्रतिशत सेवा शुल्क र दुई प्रतिशत स्वामित्व कर बुझाउनुपर्ने जनाउँदै सह प्रवक्ता मिश्रले यसो गर्दा २१ दशमलव दुई प्रतिशत करमा जाने बताए।

“त्यसबाहेक स्पेक्ट्रम शुल्क, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने चार प्रतिशत रकम कटौती गर्दा ३८ प्रतिशत रकम बचत हुन्छ। त्यसबाट लागत कट्टा, वित्तीय खर्च, अनुमति पत्र नवीकरण शुल्क र किस्ता ऋणको तिर्दा औसतमा आठ प्रतिशत मात्रै रकम बाँकी रहन्छ। त्यसमा पनि संस्थागत कर तिरेपछि पाँच प्रतिशत रकमलाई नाफा मान्न सकिन्छ”, उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेलले दूरसञ्चार सेवाहरूलाई अत्यावश्यक सेवामा लिनुपर्ने अवस्था रहे पनि नेपालमा भने विलासितापूर्ण वस्तुमा जस्तै कर लगाइएको बताए।

हाल दूरसञ्चार कम्पनीहरूले कर्पोरेट कर ३० प्रतिशत बुझाउनुपर्छ, जबकि अन्य क्षेत्रलाई यस्तो कर २५ प्रतिशत मात्रै छ।

सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले टेलिकम सेवा प्रदायकको आम्दानीमा आएको सङ्कुचनलाई हेरेर नीतिगत सुधार गर्नुपर्ने तथा विभिन्न शीर्षकमा लिने गरिएका करका दर पुनः संरचना गर्न सकिने बताए। यसो हुँदा ग्राहक र टेलिकम सेवा प्रदायक दुवैले लाभ लिने उनले बताए।

“अहिले प्रविधिमा आएको परिवर्तनले आम्दानीका स्रोत बदलिएका छन्, त्यसैले नयाँ विषयलाई सम्बोधनका लागि पनि ऐन संशोधन जरुरी छ” उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले भ्वाइसको साटो डेटाको खपत बढेको छ। यद्यपि त्यसमा पनि इन्टरनेट सेवा प्रदायकको हिस्सा ठूलो छ।

टेलिकम कम्पनीहरूले पछिल्ला छ-सात वर्षयता भोगिरहेको ठूलो समस्या ओटिटी पनि हो। ओटिटी प्लेटफर्मका कारण पनि टेलिकमको राजस्वमा उल्लेख्य गिरावट आएको भट्टराईको बुझाइ छ।

“ओटिटी प्लेटफर्म बन्द गर्नुपर्छ भनेको त हैन तर त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने समय आएको छ”, उनले भने, “होइन भने अर्बौँ लगानी भएका टेलिकम कम्पनीहरू सङ्कटमा फस्ने निश्चित छ।”

आम्दानी घट्दा पाइभजी सङ्कटमा

अहिले नेपालमा फोरजी विस्तार भएर फाइभजी सेवा ल्याउने तयारी छ। टेलिकम कम्पनीहरूको घट्दो आम्दानीको असर फाइभजी सेवा सञ्चालनमा प्रत्यक्ष देखिएको छ।

नेपाल टेलिकमले अहिले फाइभजीको केही स्थानमा परीक्षण गरिसके पनि फाइभजी ल्याउन आवश्यक बजेटको अभाव हुने देखिएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले हालैको एक कार्यक्रममा आम्दानी सङ्कुचन हुँदै जाँदा दूरसञ्चार क्षेत्र सङ्कटतर्फ धकेलिएको बताएका थिए।

“अहिले टेलिकम कम्पनीहरू जटिल सङ्कटको अवस्थाबाट गुज्रिरहेका छन्, हाम्रो आयको ठूलो हिस्सा करमा जान्छ, २० प्रतिशत रकम नयाँ उपकरण खरिदमा जाँदा बाँकी रकम सञ्चालन खर्चमा हुन्छ”, उनले भनेका थिए।

पछिल्ला वर्षहरूमा निरन्तर घट्दो आम्दानीले फाइभजी सेवा ल्याउन आवश्यक रकम अभाव हुने कायुमोभको भनाई थियो।

उनका अनुसार फाइभजी सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि दुवै टेलिकम कम्पनीले ६० अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ।

जेठ ७, २०८२ बुधबार २१:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।