पलको जोडी नफापेकी सनिशालाई राज कटुवाल फाप्लान् र!

काठमाडौं : नाबालिका बलात्कारको केसमा एक वर्ष जेल जीवन बिताएर बाहिरिएपछि अधिकांशले पल शाहसँग म्युजिक भिडियोमा अभिनय गर्न हिचकिचाए। त्यो बेला सनिशा भट्टराई पलको जोडी बनेर ‘तिमीलाई हेर्ने बानी पर्यो’,‘सक्छौ र तिमी म बिना’,‘आँसु बनि नखस कैले नि’ मा अभिनय गरिन्। तर उनी छायाँमै परिन्।
अभिनेता तथा निर्देशक बिराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’मा डेब्यु भयो उनको। तर समीरको पनि डेब्यु फिल्म थियो यो। फिल्म निकै कमजोर भए पनि व्यापारिक रूपमा सफल भयो। अभिनयमा समीरले प्रशंसा पाए। तर यसमा पनि सनिशा छायाँमा नै परिन्।
निर्देशक दिवाकर भट्टले ‘नरसिंहा अवतार’मा उनलाई लिएर अभिनय गराए। उनी राज कटुवालको जोडी बनेकी छिन्। यही फिल्मबाट लामो समयको फिल्मी विश्रामपछि अभिनेता राजेश हमाल शानदार कमब्याकको दाउमा छन्।
फिल्म दर्शकको नजरमा पार्न राजेश हमाल निकै व्यस्त छन्। दुर्लभै अन्तर्वार्ता दिने उनले अन्तर्वार्ता नदिएको कुनै माध्यम बाँकी छैन अहिले। फिल्मका लागि पुरै दिलदार देखिएका छन् उनी। ट्रेलरमा उही पुरानै ‘हे...’ भन्ने डायलग राखेर दर्शकलाई हलसम्म तान्ने प्रयास गरेका छन् निर्देशकले। तर अहिलेका दर्शकले ‘हे...’ को बदलामा ‘के....’ भनिदिन बेर लाग्दैन।
निर्देशन गरेका फिल्म निरन्तर फ्लप भएका निर्देशक दिवाकर, डेब्यु फिल्म र म्युजिक भिडियो चल्दा पनि ओझेलमा परेकी अभिनेत्री अनि ८ वर्ष लामो विश्रामपछि फिल्मको अभिनयमा फर्किएका राजेश हमाल, यी तीनैका लागि फिल्म नरसिंहाको व्यापारिक रेकर्ड निकै महत्त्वपूर्ण छ। तर दर्शकले साथ दिने त फिल्म गतिलो भयो भने नै त हो। ए उनीहरुका लागि त यो फिल्म चल्नै पर्ने छ भनेर कमजोर फिल्मलाई त कसले पो साथ देलान् र! फिल्म बलियो छ या कमजोर त्यो केही दिनमै खुलिहाल्छ।
जेठ ७, २०८२ बुधबार १९:३९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।