निलम्बनको सिफारिस थाँती राख्दै पोखरा विमानस्थल भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई लेखाको निर्देशन

काठमाडौँ : संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। बुधवार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।
लेखाले सांसद राजेन्द्र लिङ्देन नेतृत्वमा गठन गरेको उप-समितिले पोखरा विमानस्थल निर्माणका क्रममा करिब १० अर्ब भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा नागरिक उड्डयन प्राधिकरणका वर्तमान प्रमुख प्रदीप अधिकारीलगायतलाई तत्काल निलम्बन गर्न समेत भनेको थियो।
तर यसबारे लेखाले केही निर्णय गरेन। समिति सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका प्रश्नमा अख्तियारलाई छानबिन गर्न समितिले निर्देशन दिएको जानकारी दिए।
निर्णय अगाडि बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको थियो।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएपछि चर्काचर्की भएको थियो।
अनि एमाले सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए।
एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराईले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए।
जेठ ७, २०८२ बुधबार १९:०७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।