विश्वकै सबैभन्दा ठूलो फिनटेक प्रदर्शनीमा नेपाल सहभागी

विश्वकै सबैभन्दा ठूलो फिनटेक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौं : विश्वकै सर्वाधिक प्रतिष्ठित डिजिटल वाणिज्य तथा फिनटेक प्रदर्शनी "सिमलेस दुबई २०२५" मा नेपालले पहिलो पटक सहभागी भएर आधिकारिक राष्ट्रिय पविलियन स्थापना गरेको छ। नेपालको डिजिटल अर्थतन्त्र र फिनटेक क्षेत्रमा भएको प्रगतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न फिनटेक एलायन्स नेपाल (एफएएन) को अगुवाइमा पविलियन स्थापना गरिएको हो।

दुबईको विश्व व्यापार केन्द्रमा आयोजित तीन दिवसीय प्रदर्शनीमा नेपाली पविलियनको उद्घाटन संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले गरेका थिए। उद्घाटन समारोहमा विश्वभरका प्रमुख सिइओ, सिएक्सओ र फिनटेक क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

एफएएनले सिमलेस आयोजक समितिसँगको समन्वयमा नेपाली पविलियन स्थापना गरेको हो। यो पविलियनले अन्तर्राष्ट्रिय फिनटेक समुदायमा नेपालको अब सम्मकै सर्वाधिक दृश्यमान उपस्थिति सुनिश्चित गरेको आयोजकको दाबी छ।

फिनटेक एलायन्स नेपालका अध्यक्ष तथा सिटीटेक ग्लोबलका सिइओ साजन शर्माले यो एउटा प्रदर्शनी स्टल मात्र नभई नेपाली प्रतिभा र सम्भावनाको जीवन्त प्रमाण भएको बताए। विगतमा सिटीटेकले एकल प्रदर्शकका रूपमा सिमलेसमा सहभागिता जनाउँदै आएकोमा यस पटक एकसाथ नेपाली नवप्रवर्तनको प्रतिनिधित्व गर्न पाएको भन्दै उनी खुसी देखिए।

नेपाली पविलियनमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटीटेक ग्लोबल, आइएमई लिमिटेड, एनएमबी बैंक, ल्याम्डा पेमेंट्स, माइक्रोब्यांकर नेपाल, प्रोग्रामिज, आइमार्क प्रालि र रारा ल्याब्स सहभागी छन्।

२९ सदस्यीय फिनटेक एलायन्स नेपालले "फिनटेक फ्राइडेज" र "फिनटेक सोशल्स" जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

जेठ ७, २०८२ बुधबार १८:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।