कर बढ्ने आशंकामा भन्सारको यार्ड भरियो इभी गाडीले, चोभार, रसुवा र तातोपानीको पार्किङ प्याक

काठमाडौँ : नयाँ बजेटको तयारीमा सरकार सक्रिय भएसँगै अत्याधिक विद्युतीय गाडीहरू भित्रिएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीमाथिको कर बढाउन सक्ने आशंकामा भित्रिएका गाडीहरूले चोभारमा रहेको सुक्खा बन्दरगाहको पार्किङ क्षेत्र भरिएका छन्।
सरकारले जेठ १५ मा नयाँ बजेट ल्याउँदै छ। त्यो अगाडि नै भन्सार दर बढ्ने आशंकामा विद्युतीय गाडीहरू नेपाल भित्रिएका हुन्।
नेपालमा अधिक विद्युतीय सवारीसाधन चीनबाट भित्रिने गरेका छन्। यता चोभारको सुक्खा बन्दरगाहसँगै तातोपानी र रसुवागढी नाकामा रहेको भन्सारमा पनि विद्युतीय गाडीहरूको उस्तै चाप परेको छ। तातोपानीको भन्सारको यार्डमा मात्रै नौ सय बढी विद्युतीय गाडीहरू रहेका छन्। रसुवामा यस्ता ६ सय गाडी आइसकेका छन्।
भन्सार विभागका अनुसार चैत महिनासम्म नेपालमा ७ हजार ९ सय ६७ विद्युतीय गाडी आयात भएका थिए। त्यसमा चीनबाट ५ हजार ८ सय ८९ गाडी ल्याइएको थियो।
सरकारले चालु आर्थिक वर्षका विद्युतीय गाडीमा ३ सय १ किलोवाट क्षमतामा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क लगाएको थियो। २ सय १ किलोवाटदेखि ३ सय सम्ममा ६० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाएको थियो।
२ सय १ किलोवाट देखी ३ सय किलोवाटसम्मको ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्कमा कर बढाएको थियो भने १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लगाएको थियो।
५१ किलोवाटदेखि सय किलोवाटसम्मका गाडीका २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क तोकेको सरकारले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएको थियो।
जेठ ७, २०८२ बुधबार १६:०८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।