पाकिस्तानमा स्कूल बसमा आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु, २४ जना भन्दा बढी घाइते

पाकिस्तानमा स्कूल बसमा आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु, २४ जना भन्दा बढी घाइते

एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार बिहान एउटा स्कूल बसलाई लक्षित गरी भएको आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

खुजदार जिल्लाका उपायुक्त यासिर इकबाल दस्तीले बिहान सबेरै खुजदार शहरको जिरो पोइन्टमा शहरका विभिन्न भागबाट बालबालिकालाई विद्यालय लैजाँदै गर्दा बसमा आक्रमण भएको पुष्टि गरे।

दस्तीका अनुसार, घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। आक्रमणको अनुसन्धान जारी रहेको र प्रमाण सङ्कलन भइरहेको उनले बताए।

विस्फोटका कारण बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको एउटा सानो कारमा समेत क्षति पुगेको छ।

प्रारम्भिक अनुसन्धानले विस्फोटक पदार्थ सोही सानो गाडीमा राखिएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो वा आत्मघाती आक्रमणकारी संलग्न थिए भन्नेबारे अझै निश्चित भइसकेको छैन।

प्रहरी अधिकारीहरूका अनुसार, घटना हुँदा बसमा करिब ४० जना बालबालिका सवार थिए। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर, सुरक्षा सूत्रहरूले यस घटनालाई बलुच अतिवादीहरूसँग जोडेर हेरेका छन्।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस आक्रमणको कडा शब्दमा निन्दा गर्दै बालबालिकाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरे।

उनले भने, ‘यस घटनाका जिम्मेवार व्यक्तिहरू कुनै पनि प्रकारको उदारताको योग्य छैनन्। अतिवादीहरूले निर्दोष बालबालिकाहरूलाई लक्षित गरेर बर्बरता गरेका छन्।’

जेठ ७, २०८२ बुधबार १३:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।