ग्यास लिक हुँदा सिग्मा कलेजको क्यान्टिनमा आगलागी

ग्यास लिक हुँदा सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा जेठ ७ गते बिहान आगलागी भएको छ। ग्यास लिकका कारण आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट भए पनि सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा तत्काल आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको छ।

बिहान करिब ८ बजेतिर क्यान्टिनबाट धुवाँ निस्किएको देखेपछि स्थानीय बासिन्दा र कलेजका कर्मचारीले खबर गरेका थिए। आगलागीको खबर पाउनेबित्तिकै आवश्यक सहयोगका लागि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको वारुणयन्त्र (दमकल) न्यूरोडबाट पनि अर्को टोली पनि तत्काल घटनास्थल पुगेको थियो।  सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयास तथा दमकलको सहयोगमा आगलागी बिहान करिब ८ बजेभित्र पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र राखिएका भाँडाकुँडा, खाद्यान्न तथा अन्य उपकरणहरू जलेर क्षति भएको बताइएको छ। यद्यपि, आगलागी कलेजको मूल भवन वा अन्य संरचनामा फैलिन पाएन। यस घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन।

जेठ ७, २०८२ बुधबार १२:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।