चार्टर्ड एकाउन्टेन्टलाई विशेष वित्तीय सेवा दिन एनएमबि बैंक र एक्यानबीच सम्झौता

काठमाडौं : एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)सँग एक सम्झौता सम्पन्न गरेको छ। यस सम्झौतामार्फत एनएमबि बैंकले एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने घोषणा गरेको छ।
बैंकले नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने र समावेशी तथा मूल्य-आधारित बैंकिङ सेवाको प्रतिवद्धताअनुरूप यो सहकार्य अगाडि बढाएको हो। एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा पेशागत समुदायको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको जनाएको छ।
यस सम्झौताअनुसार, एक्यान सदस्यहरूले एनएमबि बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट पाउनेछन् भने सरल कागजात प्रक्रियाको सुविधा पनि उपलब्ध हुनेछ।
सदस्यहरूले एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्। यसका साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा अन्य विशेष सुविधाहरू पनि प्रदान गरिने बैंकले जनाएको छ।
यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने र पेशागत वर्गहरूलाई पहुँचयोग्य तथा दिगो बैंकिङ समाधान प्रदान गर्ने बैंकको लक्ष्यको प्रतिविम्ब हो। हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
जेठ ७, २०८२ बुधबार १२:१०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।